दुई दशकको पर्खाइ, अप्रत्याशित पारिवारिक भेट

असल शासन प्रतिनिधि

नेपालगन्ज / जब घरका कुनै पनि सदस्य बेपत्ता हुने गर्छन् । तब त्यस परिवारमा मानसिक बिचलन सुरु हुन्छ । एक दिन होइन, दुई दिन होइन, तीन दिन होइन वर्षौ वर्ष । त्यो पनि २० वर्ष घरपरिवारका सदस्य सम्पर्क नहुँदाको पीडा सायद भोग्नेले नै नजिकैबाट महसुस गर्ने कुरा हो ।

कसलाई रहर हुन्छ र घरपरिवारबाट टाढा बस्नु अर्थात् सम्पर्कबाट टाढा रहनु । समय परिस्थिति र विभिन्न घटना अनि परिवेशले मान्छेलाई कहाँबाट कहाँ पुराइदिन्छ । नाम विज्ञान भएर पनि घरपरिवार तथा साथीभाइ नचिनेर अज्ञानताको अँध्यारोमा तड्पिएका एक व्यक्तिलाई घरपरिवारसम्म पुर्‍याउने वातावरण तय हुनु निकै गर्वको कुरा हो ।

चैत २४ गते बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ३ न्युरोडमा आफ्नो नाम विज्ञान खत्री, घर जिल्ला खोटाङ चिसापानी, उमेर ३४ वर्ष बताउने व्यक्ति अलपत्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुना साथ निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा राखी उपचार तथा हेरचाह गरी अनुसन्धान गर्ने काम गरिएको थियो ।

सञ्चार माध्यमबाट यस विषयमा सूचना प्रवाह भएपछि पीडितको परिवार सम्पर्कमा आएपश्चात् निजका भाइ सुवास कोइरालाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटी गएको प्रहरी टोलीले विज्ञान खत्रीलाई कार्यालयमा ल्याई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा विज्ञान खत्री भन्ने व्यक्ति जिल्ला खोटाङ साबिक चिसापानी गाविस वडा नम्बर १ हाल परिवर्तित जन्तेढुङगा गाउँपालिका  वडा नम्बर ५ घर भई हाल जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दरपुर बस्ने ३४ वर्षीय विज्ञान कोइराला रहेको पत्ता लागेको थियो ।  २० वर्षदेखि बेपत्ता विज्ञानलाई घरसम्म पठाउने व्यवस्था मिलाइएको बाँके प्रहरीले जनाएको छ ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech