झण्डा दिवसमा झुल्किइन् झुमा, राष्ट्रिय गीतमा झुमे बाँकेवासी

साबित्री गिरी

नेपालगन्ज/ कसलाई मन नपर्ला र आफ्नो देशको राष्ट्रिय झण्डा । अनि कसले गौरव महसुस नगर्ला र आफ्नो पहिचानको । गौरव गर्नु र मन पर्नु व्यक्तिगत रूपमा स्वभावसँग जोडिएका कुरा हुन तर यसको महत्व बुझाउनु फरक पाटो हो । विगत ६ वर्षदेखि राष्ट्रिय झण्डा दिवसको परिकल्पनालाई सार्थकता दिँदै आएका पात्र हुन् अन्तरालका निर्देशक जय नारायण शाह । शाहले नयाँ वर्षको दिन सबैको मानसपटलमा रहने भन्दै यो अभियानलाई निरन्तरता दिँदै आएका छन् । अन्तरालको व्यवस्थापन तथा बागेश्वरी असल शासन क्लब बासको संयोजनमा नेपालगन्जको रामलीला मैदानमा वैशाख १ गते आयोजित झण्डा दिवस समारोहमा देशप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली राष्ट्रिय झण्डा महोत्सव छैटौं राष्ट्रिय झण्डा दिवसमा स्वागत मन्तव्य दिँदै बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले यो अभियानलाई आफ्ना शाखाहरुले समेत मनाउने गरी विस्तार गर्ने बताएका थिए । यो प्रयासले राष्ट्र प्रतिको प्रेम र एकता बढाउने भएकाले यो अभियानलाई सबैले साथ दिनुपर्ने बताए । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे दिवसका परिकल्पनाकार कथा अन्तरालका निर्देशक जयनारायण शाहले देशको झण्डमा हामी सबै गोलबद्ध भएकाले स्थानिय सरकारलाई नेपालगन्जको रामलिला मैदानमा ठूलो सबैले देख्नेगरी राष्ट्रिय झण्डा फहराउन अनुरोध गरे । साथै उनले नेपालगन्जका केहि चोकमा राखिएका झण्डा पुराना भइसक्दा समेत नयाँ नराखेकोमा दुःख व्यक्त गरे । कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेपालगन्जका बरिष्ठ पत्रकार पूर्णलाल चुकेले नेपाली झण्डालाई विश्व समुदाय समक्ष परिचित गराउन आवश्यक रहेको बताए । उनले राज्यले पनि झण्डा दिवस भनेर मनाउन सुरु गरेमा यसको गरिमा अझै बढ्ने बताए । उनले यो निरन्तर गरिरहनुपर्ने काम भएको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

झुमाको संगीतमा झुमे दर्शक

देशले रगत मागे मलाई बली चढाउनु ,रुदिनन् मेरी आमा ऊ नेपालकी छोरी भन्ने बोलको गीत चर्चित गायिका झुमा लिम्बुले नेपालगन्जको रामलीला मैदानको स्टेजबाट गाउँदा दर्शकहरुमा देशप्रतिको गौरव पैदा भएको थियो । म मरेपनि मेरो देश बाँचिरहोस् बोलको प्रेम प्रकाश मल्ल मधुकरको गीत नेपालगन्जमै आएर गाउन पाउँदाको अवस्थालाई गायिका लिम्बुले सौभाग्य ठान्दै गीतभित्रका लालीगुराँस फूलमा मेरै रगतको रंग छ भनेर गीत गाउँदा देशभक्तिको भाव चुलिएको थियो । गायिका लिम्बुले देशभक्तिको भाव बोकेका गीतसँगै भन्ज्याङ कुर्न गाह्रो भो ए साइला, शिरको टोपी भुइँ झर्ला ए साहिँला, सुदूरपश्चिमेली कलाकार प्रकाश थापाको डाँफै हिमालैमा, मैना चरी मैदानैमा, प्रेम देव गिरीको गीत सिङ्की गाजलु ,पानी पर्ला असिना झर्ला,  मरे पनि पशुपति बाँचे पनि पशुपति सरर बागमती गीत गाएपछि अन्त्यमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत गाएकी थिइन् ।

उनलाई तबलामा पारस सुवेदी, ड्रम सेटमा अभय श्रेष्ठले, सारङ्गीमा मनिष गन्धर्व र गितार बेसमा किरण लिम्बु लगायतले साथ दिएका थिए । स्थानीय कलाकार आरयन महापात्र , करिश्मा पोखरेल र नविना चन्दले दिएको प्रस्तुतिले पनि दर्शकको मन छाएको थियो । महापत्राले गाएको जाउँ माया सरर पिर मान्ने को छर ,पोखरेलले चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा ,चन्दले उकाली चढौला ,ओराली झरौला बोलको गित गाएर दर्शकहरुलाई आकर्षित गरेका थिए । कार्यक्रममा नेपालगन्जका हरित अभियान्ता हेमन्तराज काफ्लेले गायिका झुमा लिम्बुलाई सितलचिनीको विरुवा उपहारस्वरुप प्रदान गरेका थिए ।

नेपालको राष्ट्रिय झण्डाको पहिचान

नेपालको संविधानको धारा ८ मा सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनिएको छ । झण्डाको धार्मिक, आध्यात्मिक तथा व्यावहारिक महत्व ठूलो छ । हालको अवस्थाको झण्डाको डिजाइन गर्ने आर्किटेक्ट तथा इञ्जिनीयर ८५ वर्षीय शङ्करनाथ रिमाल हुन ।

सन् १९६२ डिसेम्बर १६ अर्थात वि.सं.२०१९ पुष १ गते प्रचलनमा रहेको वर्तमान झण्डालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो।नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने गर्छ । नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। झण्डामा रहेको ८ कोणको चन्द्रमाले १६ कला र सूर्यको १२ कोणले १२ महिना, १२ राशी बुझाउँछ। रातो रंगले उर्जा, नीलोले आकाश र सेतोले शान्तिलाई प्रतिविम्ब गर्छ।

चन्द्र सूर्य अकिंत झण्डा शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भए। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्म आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो। नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ।

तस्बिरः जी थापा

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech