नेपालगन्जमा सञ्चालित शैक्षिक कक्षा अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज /बालबालिका लागि सञ्चालित शैक्षिक कक्षा अनुगमन श्रमिक तथा विद्यालय बाहिर रहेका बालबालिकाका लागि नेपालगन्जमा सञ्चालित शैक्षिक कक्षाको शुक्रबार अनुगमन गरिएको छ ।

नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ११ र १९ मा सञ्चालन भइरहेको शैक्षिक कक्षाको सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख राम करन पाल, शाखा अधिकृत बालकृष्ण चौधरी र बासका निर्देशक हेमराज भट्ट, शोभा थापा मगरलगायतका पदाधिकारीले सो अनुगमन गरेका हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय बाहिर रहेका तथा श्रमिक परिवारका बालबालिकाहरुको तथ्यांक संकलन गरी तीन महिना शैक्षिक कक्षा सञ्चालन गर्ने र त्यस पश्चात् आवश्यक शैक्षिक सामाग्रीसहित विद्यालय भर्ना गर्ने उद्देश्य अनुरूप सुरु भएको कक्षामा बालबालिकाहरुलाई खेल्दै सिक्दै विधिबाट अध्यापन गराउँदै आइएको छ । सुरुका केही दिनमा कक्षामा आउन अप्ठेरो मान्ने गरेको भए पनि आजभोलि ठीक समयमा सबै बालबालिका कक्षामा आउने गरेको वडा नम्बर ११ की सहजकर्ता नोरी कुमारी चौधरीले बताइन् । पहिलेको तुलनामा बालबालिकाहरुले सरसफाइमा समेत ध्यान दिन थालेको उनको भनाइ थियो । यसैगरी अनुगमनको क्रममा वडा नम्बर १९ की सहजकर्ता निशा गिरीले शैक्षिक कक्षा सञ्चालनले मधेसी तथा मुस्लिम समुदायमा बालबालिकालाई पढाउनु पर्छ भन्ने भावनाको विकास हुन थालेको बताइन् । शैक्षिक कक्षा सञ्चालनले बालबालिकाहरुलाई पढ्न उत्प्रेरित गरेको उनको भनाइ थियो ।

२०७७ फाल्गुनदेखि सुरु भएको कक्षा जेठसम्म सञ्चालन हुने र शैक्षिक कक्षामा सहभागी बालबालिकालाई विद्यालय भर्ना गरी कार्यक्रम समापन गरिने छ । शैक्षिक कक्षा सञ्चालन सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहयोगमा बासले गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा २० जना र वडा नम्बर १९ मा १० जना गरी ३० बालबालिका शैक्षिक कक्षामा सहभागी हुँदै आएका छन् ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech