पत्रकार विनय श्रीवास्तवको उपचारको अभावमा निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल भारत संयुक्त मञ्च भारत पक्षका संयोजक तथा वरिष्ठ पत्रकार विनय श्रीवास्तवको निधन भएको छ । भारत उत्तर प्रदेश लखनउमा उनको निधन भएको हो ।

उनको निधनमा नेपाल–भारत संयुक्त मञ्च नेपाल पक्षका संयोजक पूर्ण लाल चुके र भारत पक्षका सचिव मणिराम शर्माले संयुक्त शोक प्रेस विज्ञप्ति जारी गरी स्वर्गीय श्रीवास्तव प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरेका थिए ।

स्वर्गीय श्रीवास्तवका सुपुत्र हर्षिद श्रीवास्तवका अनुसार उनी अस्वस्थ भएपछि उत्तर प्रदेशको राजधानी लखनउका विभिन्न अस्पतालमा उपचारको लागि लैजाँदा कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उपचारकै अभावमा उनको निधन भएको हो ।

निधनको केही घण्टा अगाडी स्व. श्रीवास्तवले आफ्नो फेसबुक स्टाटसमा आफ्नो शरीरमा अक्सिजनको लेवल ५० प्रतिशत भन्दा कम देखिएर स्वास्थ्य समस्या भएपछि लखनउका विभिन्न अस्पतालमा जाँदा भर्ना नलिएको र वास्ता नगरेकोमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय प्रति आक्रोस पोखेका थिए । उनले के सरकारी अस्पताल ठूलावडा नेताहरुकै लागि मात्र हो ? सर्वसाधारणले स्वास्थ्य सेवा कसरी पाउँछन् त भनि प्रश्न गरेका थिए ।

उपचारको अभावमा श्रीवास्तवको ६५ वर्षको उमेरमा निधनप्रति भारतीय अखबार र आम पत्रकारहरुले रोष व्यक्त गरेका छन् ।
करिब ३५ वर्षसम्म अमर उजालालगायत विभिन्न राष्ट्रिय अखरबारमा आबद्ध सक्रिय पत्रकारितामा संलग्न श्रीवास्तव नेपाल–भारत संयुक्त मञ्चको स्थापनाकालदेखि नै भारत पक्षका संयोजक थिए । मञ्च र पत्रकारिताको माध्यमबाट नेपाल–भारत बीचको सम्बन्धलाई मजबुद गराउन र नेपाली र भारतीय पत्रकारहरु बीच मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न स्व. श्रीवास्तवको उल्लेखनीय भूमिका रहेको थियो । उनको निधनले पत्रकारिताको क्षेत्रमा अपुरणीय क्षति भएको छ ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ,‘यस दुखद् घडीमा स्वर्गीय श्रीवास्तवको असामयिक निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि कामना गर्दछौं । साथै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्दछौं ।’

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech