व्यवसायिक सफलताको शिखरमा राजकुमार

इच्छाशक्ति हुने हो भने मेहनत गरेर आफ्नै लगानीमा अर्थात् आफ्नै परिश्रमले कमाएको आम्दानीबाट सुरु भएको लाखको लगानी करोडमा पुगाउन सकिन्छ भन्ने कुराको जीवन्त उदाहरण हुन् राजकुमार ।

साबित्री गिरी

जिन्दगीमा के बन्ने सबैका आफ्ना आफ्ना लक्ष्य र उद्देश्य हुन्छन् । कोही कोही व्यक्तिले केही पनि सोचेकै हुँदैनन् बस समयले दिने जिम्मेवारीमा रमाउने गर्छन । तर केही व्यक्ति यस्ता हुन्छन् जसले सानैदेखि आफ्नो उद्देश्य बनाएर सोही उद्देश्य पूरा गर्न दिनरात मेहनत गर्छन् । चिन्तन गर्छन् अनि गोरेटो समात्ने गर्छन् । जीवनको भोगाइले दिने जिम्मेवारी र मनैदेखिको जिम्मेवारीमा निकै बदलाव हुने गर्छ । अन्तर्आत्मादेखि चाहेको कुरा प्राप्ति पनि सबै सबैलाई कहाँ हुन्छ र ! यसका लागि इच्छाशक्ति मात्र नभएर मेहनत पनि चाहिन्छ । मेहनत गरेरै सफल व्यापारी बनेका छन् राजकुमार गिरी ।

सानो उमेरदेखि नै सफल व्यापारी हुन्छु भनेर सोच राखेका गिरीको जन्मस्थान बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ सूर्यपटुवा हो । हाल उनको बसाइँ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० भुजइ गाउँमा रहेको छ । राजकुमार अटो मोबाइल व्यवसायी हुन् । सफल व्यवसायी बनेर थुप्रै अवार्ड तथा सम्मान पाइसकेका राजकुमार अझै सफल बन्दै गइरहेका छन् । २६ वर्षदेखि एउटै व्यवासायलाई निरन्तरता दिन सक्नु राजकुमारको अर्को खुबी हो । उनी मध्यमवर्गीय घरपरिवारमा जन्मिएका हुन् । उनका बुबाआमाले कृषि पेशाबाटै परिवारको पालनपोषण गर्ने गर्थे । उनका बुवाले राजनीति र व्यापार व्यवसाय पनि गर्थे । आफ्ना बुवा केशर गिरीले गरेको काममध्ये राजकुमारलाई व्यापार व्यवसायले सानैदेखि आकर्षित गरेको थियो । उनकी स्वर्गीय आमा लालकुमारी गिरीले पनि राजकुमारको व्यापार गर्ने योजनामा सहमति जनाएपछि राजकुमारले एसएलसी दिएपछि विक्रम संवत् २०५२ सालबाटै व्यापार के हो भन्ने बारे सिक्न थाले ।

विक्रम संवत् २०३६ साल साउन १२ गते जन्मिएका राजकुमारका पाइलाले उनलाई व्यापारकै लागि संसारमा आएका हुन् कि भन्ने प्रमाणित गरिदिएको छ । किनभने ७ लाख रुपैयाँबाट आफैले मेहनत गरी पैसा कमाएर व्यवसाय सुरु गरेका गिरीले अहिले वार्षिक १८ करोडको कारोबार गर्छन् । गाउँघरमा बस्ने, गोठालो जाने, खेतीपातीमा सहयोग गर्ने, विद्यालयबाट फर्केपछि घरका सदस्यलाई काममा सघाउने गिरीको बाल्यकाल सामान्य रूपमा बित्यो । गाउँकै त्रिभुवन माध्यामिक विद्यालय सूर्यपटुवामा एसएलसी उत्तीर्ण गरेका गिरीले उच्च शिक्षा लिन पोखरा पुगे । त्यहाँ उनले बिबिएससम्मको अध्ययन पूरा गरे । विक्रम संवत् २०५८ सालमा बिबिएस पूरा गरेपछि उनले नेपालगन्ज फर्कने सोच बनाए । विक्रम संवत् २०५२ सालमा पोखरा पुगेसँगै आफ्नो भिनाजुसँग व्यापार सिकेका राजकुमारले त्यहाँ बस्दै खेरी विक्रम संवत् २०५६ सालबाट ७ लाख रुपैयाँको लगानीमा अटो मोबाइलको व्यापार सुरु गरेका हुन् । त्यसपछि विक्रम संवत् २०५८ सालमा नेपालगन्ज फर्किंदा उनले ५० लाखको लगानीबाट त्यही व्यवसायलाई निरन्तरता दिएका हुन् । पोखरामा बस्दा भिनाजुलाई सहयोग गर्ने क्रममा सिकेको ज्ञानले आज गिरीलाई सफल व्यापारी बनायो । इच्छाशक्ति हुने हो भने मेहनत गरेर आफ्नै लगानीमा अर्थात् आफ्नै परिश्रमले कमाएको आम्दानीबाट सुरु भएको लाखको लगानी करोडमा पुगाउन सकिन्छ भन्ने कुराको जीवन्त उदाहरण हुन् राजकुमार । नामले राजकुमार भएता पनि कर्म क्षेत्रमा उनले धेरै संघर्ष गरेका छन् । यही संघर्षको परिणाम नै राजकुमार सबैको मनमुटुमा बस्न सफल समेत छन् ।

राजकुमारका तीन जना दाजुभाइ र तीन दिदीबहिनी छन् । राजकुमार भने चौथो सन्तान हुन् । उनका सानो भाइ इन्द्रकुमार गिरीले व्यापारमा उनलाई सहयोग गरिरहेका छन् । व्यापारमा दुवै दाजुभाइको सहकार्य रहेको छ । उनका दाइ रुद्रकुमार गिरीले भने नेपाल प्रहरीको जागिर रोजे । ठूलो दिदी र भिनाजुले अटो मोबाइलको व्यवसाय नै रोजे भने बाँकी दुई दिदीबहिनी गृहणीको भूमिकामा रहेका छन् । उनकी श्रीमती अञ्जु अधिकारी गिरीले पनि उनलाई व्यवसायमा सहयोग गर्छिन् । अन्जुसँग विक्रम संवत् २०६२ सालमा बिहे गर्दा राजकुमार २६ वर्षका थिए । अहिले राजकुमारका १३ वर्षे छोरी तृप्ती गिरी र ४ वर्षे छोरी तृषा गिरी रहेका छन् । यी दुई छोरीहरुलाई आफूभन्दा पनि सफल व्यापारी बनाउने राजकुमारको सपना छ । आफूले जुन अभाव स्कुले जीवनमा झेल्नु प¥यो त्यो अभाव अहिलेका सन्तानले झेल्न नपरोस् भन्ने चाहन्छन् राजकुमार । अभावले राजकुमारलाई १६ वर्षे हासखेल गर्ने उमेरमै परिपक्क बनाइदियो । रमाएर हिँड्डुल गर्ने बेलाको युवालाई व्यापारिक क्षेत्रमा होमिदियो समयले । त्यही लगनशीलता आज राजकुमारका लागि जीवन जिउने गतिलो आधार बनेका छन् । जसको श्रेय उनी आफ्ना ठूलो दिदी र भिनाजुलाई दिन चाहन्छन् । उनीहरुको साथ र सहयोगले आज यहाँसम्म पुराइदियो उनलाई । एकातिर अध्ययनका लागि क्याम्पस जानु पर्ने अर्कोतर्फ अटो मोबाइलको व्यवसाय । दुवै फरक—फरक पाटोलाई केलाउँदै मेहनत गरेका गिरीले दुवैलाई सँगसँगै लगे र सफल पनि बने । गरे के हुँदैन भनेझंै गिरीले गरेका मेहनतका दिन आज सुनौला बनिदिएका छन् । बुवाआमाले केही गरिदिनु भएन भन्नेका लागि राजकुमार एउटा पाठशाला नै हुन् । एक—एक गरेर कमाएको रकम जोडेर करोडमा पु¥याउन उनलाई मेहनतले नै सक्षम बनायो ।

व्यापार व्यवसायसँगै राजकुमार सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेका छन् । गिरी लायन्स क्लब अफ नेपालगन्जमा १५ वर्षदेखि सदस्यका रूपमा कार्यरत रहेका छन् । यस्तै विगत ५ वर्षदेखि नेपाल दशनामी समाजमा कोषाध्यक्षको भूमिकामा रहेका छन् । उनमा सामाजिक कामप्रतिको रुचि धेरै नै छ । अप्ठेरामा परेका र दुःखी गरिबलाई सेवा गर्न पाउँदा उनलाई खुसी लाग्ने गर्छ । उनका कोही साथी इन्जिनियर, कोही बैंकका म्यानेजर छन् भने कोही साथी चार्टर एकाउन्टेन्टसमेत छन् । तर राजकुमार व्यवसायमै सन्तुष्ट छन् । राजकुमारले बेल्जियम, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, होल्याण्ड, चाइना, थाइल्याण्ड, सिंगापुर, इण्डोनेशिया र मलेसियाको भ्रमण गरिसकेका छन् । त्यहाँ पुग्दा उनले नेपालको र विदेशको व्यापारिक प्रणालीलाई नजिकैबाट नियाल्ने मौका पाए । राजकुमार भन्छन्,‘विदेशको व्यापार व्यावासाय सिस्टममा छ । त्यहाँ आवश्यकताको आधारमा व्यापार व्यवसायको सुरुवात हुन्छ । तर नेपालमा देखासिकीको आधारमा व्यवसाय सुरु गरिने उनको अनुभव छ । उनका अनुसार सम्भावना अध्ययनबिना नै व्यापार गर्ने भएको हँुदा नेपालमा गरिने व्यवसायको स्तरीयता बढ्न नसकेको हो । नेपालमा व्यवसाय राम्रो बनाउनका लागि दक्ष जनशक्ति चाहिन्छ । यसका लागि सीप प्रदान गर्न राज्य चुक्न नहुने उनी बताउँछन् ।

राजकुमार अधिकांश समय व्यापारका सिलसिलामा मध्य र सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्ला पुगेका छन् । विक्रम संवत् २०६६ सालमा आमा गुमाउँदाको क्षण निकै दुखदायी लाग्ने राजकुमार हौसला प्रदान गर्ने र उत्प्रेरणा प्रदान गर्ने आमालाई पाइला पाइलामा सम्झने गर्छन् । उनका बुबाले सिकाएको अनुशासनको पाठ पनि कहिल्यै बिर्सिदैनन् राजकुमार । नेपालमा सीप सिकेर व्यवसाय सुरु गरेमा सम्भावना धेरै राम्रो भएको उनी बताउँछन् । जीवनलाई संघर्षको उपमा दिने राजकुमारले जीवनका दुःख र सुःखलाई सिकाइको रूपमा लिएका छन् । उनले सिप्रदी टे«डिङबाट वेस्ट डिलर अवार्ड, म्याक लुब्रिक्यान्ट्सबाट वेस्ट डिलर अवार्ड, एमरोन ब्याट्रीबाट वेस्ट डिलर अवार्ड, उषा पिस्टन एण्ड रिङबाट वेस्ट डिलर अवार्ड पाउन सफल भएका छन् । उनले काम गर्दै जाँदा सोचे भन्दा धेरै उपलब्धि हात पारे । निरन्तरको मेहनत र लगनशील भए सफल भइन्छ भन्ने उदाहरण बनेका छन् राजकुमार ।

ग्राहकको सेवामा प्रभावकारिता ल्याउन सके सफल भइने उनको अनुभव छ । राजकुमार दैनिक रूपमा १३ घण्टा व्यापार व्यवसायमै व्यस्त रहन्छन् । घरपरिवारलाई पर्याप्त समय दिन नसकेता पनि घरपरिवारबाट राम्रो साथ र सहयोग पाएका छन् राजकुमारले । आफूले कमाएको पैसाले तयार गरेको भौतिक संरचनामा व्यवसायलाई नयाँपन दिएको क्षण राजकुमारका लागि अविस्मरणीय क्षण हो । यो कामपछि उनलाई व्यवसायका लागि भाडा तिर्नु पर्ने बाध्यता टरेको हो । व्यापार व्यवसायबाट बचेको समय व्यतीत गर्न उनी आफू जन्मिएको स्थान बर्दियाको सूर्यपटुवा पुग्ने गर्छन् । त्यहाँ गएर साथीभाइ र आफन्त तथा छिमेकीलाई भेट्दा निकै आनन्द महसुस गर्छ राजकुमारलाई । घरमा बस्दा श्रीमतीसँग पनि व्यापारकै कुरा हुने र सपनामा पनि व्यापारकै डिल हुने गरेको राजकुमार बताउँछन् । तन र मनदेखि नै व्यापारलाई प्राथमिकतामा राखेका राजकुमारको आगामी योजना पनि यही व्यवसायलाई वृद्धि गर्दै लैजाने रहेको छ । पत्रकारिताप्रति रुचि भएता पनि राजकुमार व्यापारमै व्यस्त बने । यथार्थवादी सोच र व्यापारमा शुद्धता भए सफल हुन सकिने राजकुमार बताउँछन् । आगामी दिन अझै सफल हुँदै जाओस् । शुभकामना ।

 

 

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech