आज चैत शुक्ल नवमी , रामनवमी पर्व मनाइँदै

असल शासन प्रतिनिधि

काठमाण्डौ/ आज रामनवमी पर्व मनाइँदै छ । चैत शुक्ल नवमीका दिन देशभर रामको पूजा आराधना गरी रामनवमी मनाउने गरिन्छ ।

त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको विश्वास गरिन्छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आज रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् । जनकपुरमा रहेको रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनको घुइँचो लाग्छ ।

श्रीरामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ ।

गएको असारमा प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech