नेपालगञ्जमा मनाईयो राष्ट्रिय टोपी दिवस, टोपीलाई सरकारी कार्यालयमा अनिवार्य गर्न माग

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगञ्ज अंग्रेजी नयाँ बर्षको दिन मनाईने राष्ट्रिय टोपी दिवस नेपालगञ्जमा नेपालगञ्जमा मनाईएको छ ।
बास नेपालको आयोजनामा नेपालगञ्जको बिपि चौकमा टोपी दिवस मनाईएको हो । बासले बिगत ४ बर्ष देखि टोपी दिवस मनाउँदै आएको छ ।
पश्चिमा संस्कृति हावी भएको भन्दै २०७० साल देखि काठमाण्डौंमा शुरु गरिएको टोपी दिवस अहिले देशैभर मनाउन थालिएको छ ।
टोपी दिवसको अवसरमा पाैष १७ गते नेपालगञ्जमा आयोजित कार्यक्रममा धर्मगुरु, सामाजिक अगुवा, उद्योगी, व्यवसायी लगायतले सहभागिता जनाए ।

कार्यक्रममा बोल्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका अध्यक्ष तथा बागेश्वरी मन्दिरका मुल महन्त मठाधिश चन्द्रनाथ योगीले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि टोपी महत्वपूर्ण भएको बताउँदै नेपाली टोपीलाई राष्ट्रिय पोषाखको रुपमा अनिवार्य गर्नुपर्ने बताए ।
अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका उपाध्यक्ष मुस्लिम धर्म गुरु मौलाना जव्वार मञ्जरीले टोपी राष्ट्रियताको प्रतिक भएको बताए । उनले टोपीको कारण संसार भर नेपाली भनेर चिनिने भएकाले सबैले टोपी लगाउनु पर्ने बताए । सधैंभर नेपाली टोपी लगाउने भएका कारण आफुलाई बिदेश जाँदा समेत बिदेशीहरुले नेपाली भनेर आफुलाई सम्मान र सहयोग गरेको उनले स्मरण गरे ।
संबिधानसभा सदस्य भोला सिद्धिकीले नेपाली टोपीलाई सरकारी पोषाखको रुपमा अनिवार्य गर्न सरकारसँग माग गरे । उनले भने–संसदमा टोपी अनिवार्य छ तर साँसदहरुनैं टोपी लगाउँदैनन्, सदन, सिंहदरवार देखि देखि तल्लो तह सम्मका सबै सरकारी निकायहरुमा टोपी अनिवार्य गरिदिनुपर्छ । उनले थपे–टोपी हामी सबैको गौरव हो, यसको संरक्षण र प्रयोग गरौं ।

कार्यक्रममा टोपीको महत्व बारे महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जकी समाजशास्त्र बिभाग प्रमुख साबित्रा बस्नेत, समाजसेवी मिना श्रेष्ठ लगायतले टोपीको महत्व बारे बोलेकि थिईन् ।
कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले बिश्व मानचित्रमा नेपाली भनेर चिनाउने नेपाली टोपीको प्रयोगमा ह्रास आईरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा टोपी अनिवार्य गर्न सरकारसँग माग गरे । उनले भने–बाह्य संस्कृतिले जरो गाडेका बेला अंग्रेजी नयाँ बर्षको दिन आफ्नै संस्कृतिलाई माया गरौं, संरक्षण गरौं, राष्ट्र, राष्ट्रियताका बारे चिन्तन गर्नका लागि सन्देश प्रबाह गर्न टोपी दिवस मनाउने गरिएको बताए । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रमको समापन बासका निवर्तमान अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech