पाटेबाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/पाटेबाघको आक्रमणबाट बाँकेको बैजापुर जंगलमा एक महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो ।

गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने स्थानमा घाँस काट्न गएका थिए । घाँस काट्न गएकी विष्टलाई एक्कासि बाघले झम्टेको थियो । उनलाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खादै गरेको अवस्थामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज (प्रहरी नायव निरीक्षक) मुकुन्द सिग्देलले जानकारी दिए ।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा एक जना महिलालाई पनि बाघले आक्रमण गरेको थियो । बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको छ ।

तस्बिर सौजन्यः हेमन्त चौधरी

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech