राप्तीसोनारीमा बाल संरक्षण केन्द्रः १० बालबालिकाले लिए आश्रय

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा असहाय बाल संरक्षण केन्द्रको कार्यालय उद्घाटन गरिएको छ । समाजमा रहेका असहाय बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले बिहीबार जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको कार्यालय उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेशकी सांसद कृष्ण केसी नमुना प्रमुख अतिथि रहेको कार्यालय उद्घाटनमा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री विशिष्ट अतिथि रहेकी थिइन् । संस्थाका अध्यक्ष तारा ओलीको सभापतित्वमा भएको कार्यालय उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु र स्थानीयको सभागिता रहेको थियो ।

केन्द्र स्थापनाका क्रममा प्रमुख अतिथि नमुनाले बहुसंख्यक बालबालिकामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको धारणा राख्दै बालबालिकालाई समृद्धिका लागि प्रयोग गर्न सकिने बताइन् । केन्द्रले समाजमा रहेका त्यस्ता बालबालिकालाई संरक्षण गरेर सही मार्गमा हिँडाउनु पर्नेमा प्रमुख अतिथि नमुनाले जोड दिइन् ।


‘आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरूका लागि केही गरेर मर्नु नै महानता हो,’ विशिष्ट अतिथिसमेत रहेकी उपाध्यक्ष धनी कुमारी खत्रीले भनिन्,‘समाजमा रहेका असहाय बालबालिकाका लागि नडग्मगाई निरन्तर रुपमा केन्द्र लागि पर्नेछ भन्ने विश्वास र आशा लिएकी छु ।’ केन्द्र संचालनका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उपाध्यक्ष खत्रीले गरेकी छन् ।

केन्द्रका अध्यक्ष तारा ओलीले मानवसेवाका लागि खोलिएको केन्द्रलाई सबैले संरक्षण गर्नु पर्नेमा जोड दिइन् । केन्द्रमा हाल १० जना असहाय बालबालिका रहेको जानकारी दिँदै अध्यक्ष ओलीले आपसी सहयोग र भाइचाराले समाज शान्त र मजबुद हुने भन्दै समाज बदल्न र सकारात्मक रूपान्तरणमा सबैको योगदान आवश्यक हुने बताइन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech