स्वास्थ्य चौकीलाई जग्गादान गर्ने दाताको प्रतिमा अनावरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ । बेतहानी निवासी भूतपूर्व प्रधान स्वर्गीय विष्णुप्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निर्माणका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान गरेका थिए । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शुक्रबार एक कार्यक्रमका बीच जग्गादाताको प्रतिमा अनावरण गर्दै स्वास्थ्य जस्तो संवेदनशील सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताए । उनले लाखौ मूल्य पर्ने जग्गादानले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि हामीले सधैं सम्मान गर्न सिक्नु पर्ने उल्लेख गरे ।

त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोरा ओम प्रकाश चौधरी र शिवकुमार चौधरी र बुहारी सुरतादेवी चौधरीलाई अध्यक्ष चौधरीले फूल माला लगाएर सम्मान गरेका थिए ।

स्वास्थ्य चौकी निर्माण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले ज्येष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech