बिद्युत मिटर पाउन सास्ती

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बिद्युत आपूर्तिमा व्यापक सुधार भएको सरकारले बताइरहँदा नेपालका धेरै ठाउँहरू बिद्युतको पहुँचमा पुग्न सकेका छैनन् । बाँके जस्तो सुगम जिल्लाका समेत सबै ठाउँका जनताहरू बिद्युतको पहुँचमा छैनन् भन्दा पाठकहरूलाई अचम्म लाग्ला तर सत्य यहीनै हो ।

बाँकेको नेपालगन्ज जस्तो ऐतिहासिक सहरमा समेत महिनौंदेखि बिद्युत प्राधिकरणसँग मिटर माग गर्दा ग्राहकहरूले मिटर पाएका छैनन् । सुगम जिल्ला जहाँ बिद्युतका पोल, तार पुगिसकेका छन् त्यहाँसमेत मिटर दिन नसक्नुले बिद्युत आपूर्ति सहज भएको भन्नु सरकारी गफ मात्रै भएको बुझिन्छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा मिटर माग गरेका सेवाग्राही दैनिकजसो मिटरबारे बुझ्न कार्यालय पुग्ने गरेका छन् । तर सधैं एउटै रेडिमेड जवाफ आउँछ, ‘अहिले बिद्युत मिटर आएको छैन ।’

दुई वर्षदेखि हालसम्म मिटर माग गर्दै आएका सयौं सेवाग्राहीहरूले मिटर प्राप्त गर्न सकेका छैनन् ।

बाँकेको राप्तीपारि नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा विद्युतीकरण भएको छ । वर्षौको प्रयासपछि विद्युतीकरण गरिएको उक्त क्षेत्रमा जनताले विजुली बाल्नका लागि मिटर भने पाएका छैनन् ।

पहिले आवेदन दिएकाले मिटर नपाएपछि मिटरका लागि आवेदन दिननै नयाँ सेवाग्राही हिच्किचाइ रहेका छन् । घर आँगनमा बिद्युतको पोल छ तर मिटर नहुँदा बत्ती स्थानीयले बाल्न पाएका छैनन् ।

नरैनापुर र धामपुरका २ हजार ५ सयले यसअघि बिद्युत मिटरका लागि निवेदन दिएको बताइन्छ । नेपालगन्जमा पनि नयाँ घर बनिरहेकाले बिद्युत मिटरको माग बढिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सेवाग्राहीले पुरानो मर्मत गरिएका मिटर नलिँदा पनि नयाँ मिटर कुर्नेको संख्या बढ्दो रहेको बताइएको छ । यद्यपि, प्राधिकरणसँग नै पुराना मिटर हाल माग गर्नेहरूको माग धान्न सक्ने संख्यामा नरहेको कर्मचारी बताउँछन् । प्राधिकरणले केही समयमा मिटर आउने बताउन लागेको तीन/चार महिना बितिसकेको छ । तर, नयाँ मिटर भने आएको छैन ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख दीवाकर प्याकुरेलले नयाँ मिटर नआएकाले हाल आपूर्ति गर्न नसकेको बताए । उनले नयाँ मिटरका लागि प्राधिकरणको केन्द्रबाट टेण्डर भएको बताए । ७ लाख मिटरका लागि यसअघि टेण्डर भएको बिद्युतको भनाइ रहेको छ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech