राप्तीसोनारीमा रोकिएन बाघ आतङ्क, शुक्रबार पुनले रुखमा चढेर जीवन बचाए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्तीसोनारीमा दिनहुँ बाघले आक्रमण गरेका घटना बाहिर आउन थालेका छन् । शुक्रबार बाघको आक्रमणबाट राप्तीसोनारी ५ चिलहरियाका बमबहादुर पुनले रुखमा चढेर जीवन बचाएका छन् । पुनलाई सिद्धेश्वरी सामुदायिक बनको हर्दिवा खोलामा बाघले आक्रमण गर्न खोज्दा रुखमा चढेर जीवन रक्षा गरेका हुन् ।

बाघले एउटा बाख्रा मारेको छ भने तीनवटा बाख्रालाई घाइते बनाएको छ । त्यस्तै ४ वटा बाख्रा हराइरहेको घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय धामपुरका इन्चाज सई मुकुन्द सिग्देलले जानकारी दिए । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त समूहले मरेको र घाइते बाख्रा फेला पारेका हुन् ।

राप्तीसोनारीका स्थानीय यतिबेला बाघबाट हुन सक्ने जोखिमबाट आतङ्कित बनेका छन् । निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले बारम्बार आतङ्क मच्चाइरहेको छ । बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा तीनजनाले ज्यान गुमाइसेकाका छन् ।
बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।

बाँके निकुञ्जमा बाघको संख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको स्थानीय बताउँछन् । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं. ५ र ६ को जंगलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो । बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो ।

विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर टाढा भगाएर शव लिएर आएको थियो ।

राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोलीले बाघ धपाउने प्रयास गरिरहेको बताए ।

बाघको संख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

 

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech