राप्तीसोनारीमा बाघ आतङ्कः फेरि एक महिलाले गुमाइन ज्यान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीकी एक महिलाले अनाहकमा ज्यान गुमाएकी छन् । शनिबार बाघकाे आक्रमणबाट वडा नम्बर ६ फत्तेपुरको हब्रहवाकी ३० वर्षीया चाँदनी थारुको मृत्यु भएको छ ।  वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टलाई बाघले मारेको दुई दिन बित्न नपाउँदै बाघ आक्रमणमा परी थारुको मृत्यु भएको हो ।

थारु फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला एक्कासि बाघले झम्टेर लगेको थियो । थारु बाघ आक्रमणमा परेको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकी खोजतलासमा जुटेको थियो । केही बेरको खोजतलासपछि थारुको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएकोछ ।

यस अघि पुस २२ गते बिहीबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरको स्थानीय जलहन् सामुदायिक वनमा घाँस काट्न गएकी ५४ वर्षीया लिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यस्तै पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए ।
क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टेको थियो ।

यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जंगलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो ।

बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech