बाघको आक्रमणमा परी मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँ किरिया खर्च

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्तीसोनारी गाउँपालिकामा पछिल्लो समय बाघको आक्रमणमा परी मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँ किरिया खर्च दिइएको छ । सोमबार मृतकको घरमा गई मृतकका परिवारलाई उक्त रकम उपलब्ध गराइएको छ । बाघको आक्रमणबाट पुस २२ गते बिहीबार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी ५४ वर्षीया लिला विष्ट र पुस २४ गते शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६, फत्तेपुरको हब्रहवा गाउँकी ३० वर्षीया चाँदनी थारुको परिवारलाई किरिया खर्चबापत राप्तीसोनारी गाउँपालिकाले उक्त रकम उपलब्ध गराएको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराउँदै पालिका हरदम गाउँवासीको साथमा रहेको बताए । अध्यक्ष थारुले बाघ आक्रमणमा मृत्युका परिवारलाई सम्बन्धित निकायबाट क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा सहकार्य गरिरहेको बताउँदै बाघबाट हुने सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन गाउँवासीलाई आग्रह गरेका छन् ।

पुष २२ गते बिहीबार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी ५४ वर्षीया लिला विष्ट बिहीबार मध्यान्ह १२ बजे स्थानीय जलहन् सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । घाँस काट्दै गर्दा लिलालाई बाघले एक्कासि आक्रमण गरी आफूसँगै लतारेर लगेको थियोे । विष्ट हराएपछि खोज्दै जाँदा बाघले खाँदै गरेको अवस्थामा बाघलाई धपाएर उनको शव प्रहरी र स्थानीयले ल्याएका थिए । सोक्रममा बाघका पञ्जाबाट लिलाको शव छुटाउन प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । बाघले लिलालाई मारेर जलहन सामुदायिक वन अन्तर्गत घट्ट खोला खोचमा राखेको अवस्थामा भेटिएको थियो ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६, फत्तेपुरको हब्रहवा गाउँकी ३० वर्षीया चाँदनी थारुलाई शनिबार विहान साढे १० बजे बाघले आक्रमण गरी मारेको थियो । सिद्धेश्वर सामुदायिक वन उपभोक्ता समितिले माघीको लागि दाउरा खोलेपछि शनिबार उनी छिमेकीहरुसँग अम्व्रहवा खोलामा दाउरा लिन गएकी थिइन् । दाउरा संकलन गरिरहेकी चाँदनीलाई बाघले आक्रमण गरी आफूसँगै लिएर गएको थियो ।

 

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech