२४० छात्राले पाए निशुल्क साइकल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्कुल छाड्ने दर घटाउन छात्राहरुलाई साइकल वितरण गरेको छ । तेस्रो चरणको साइकल वितरण कार्यक्रम अन्तर्गत पालिकाले सोमबार २४० छात्रालाई साइकल वितरण गरेको हो ।

राप्तीसोनारी वडा नम्बर १ मा रहेको कुशुमेश्वर माध्यमिक विद्यालय, वडा नम्बर ४ को बैजापुर माध्यमिक विद्यालय, बैजापुरकै जनशक्ति माध्यमिक विद्यालय र राप्तीसोनारी गाउँपालिका ५ बिनौनाको भुवरभुवानी माध्यमिक विद्यालयमा अध्ययनरत २४० छात्रालाई गाउँपालिका अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेलगायतले साइकल वितरण गरेका हुन् ।

छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न पालिकाले सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा पढ्ने छात्राहरुलाई आफ्नै लगानीमा चरणबद्ध रुपमा निशुल्क साइकल वितरण गर्दै आएको छ ।

पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष थारुले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रबृत्तिदेखि निशुल्क साइकल वितरण गरेको बताए । गाउँपालिकाले सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत करिब ११ सय १७ जना छात्रालाई साइकल वितरण गरिने अध्यक्ष थारुले बताए । राप्ती सोनारी गाउँपालिकाले करिब ८० लाख बजेटमा ११ सय बढी छात्रालाई साइकल वितरण गरिने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले जानकारी दिए ।

 

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech