बाघ नियन्त्रणका लागि भुवरभुवानीमा पूजा

असल शासन प्रतिनिधि

नेपालगन्ज– लगातार बाघ आक्रमणको घटना बढ्दै गएपछि भुवरभवानी मन्दिरमा विशेष खालको पूजा पाठ गरिएको छ । सोमबार राप्तीसोनारी– ३ बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठूलो शक्ति पिठ भुवरभवानी मन्दिरमा विशेष पूजापाठ गरिएको हो । सदियौंदेखि मन्दिरमा पूजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको पूजा गरेको अगुवा चौधरीया बिष्णुप्रसाद थारुले जानकारी दिए ।

सोमबार मात्रै विशेष खालको पूजापाठ २ पटक गरिएको जानकारी दिँदै चौधरीया थारुले अब बाघ नियन्त्रण हुने आश्वासनसमेत दिए । पुर्खाहरुको भनाईअनुसार आज भन्दा एक सय वर्ष अगाडि मान्छेलाई बाघले खाने गरेको र भुवरभवानी मन्दिर स्थापना गरि पूजापाठ गर्न थालेपछि रोेकिएको हो ।

विशेष खालको पूजा पाठ गर्ने क्रममा भुलचुक भएको निश्कर्ष निकालिएको छ । अगुवा चौधरीया थारुले १०–१० वर्षमा गरिने ठूलो पूजामा भुलचुक भएको र त्रिसुलमा समस्या देखिएको निश्कर्ष गुरुवाहरुले निकालेको उल्लेख गरे । राप्तीसोनारीका करिब २० भन्दा बढी गाउँका अगुवाहरुको उपस्थितिमा विशेष खालको पूजा गरिएको हो ।

२०१४ सालमा पक्की मन्दिर बनि ठूलो शक्ति पीठको रुपमा मानिएको भुवरभवानी मन्दिरमा हरेक वर्ष ३ पटक विशेष पूजा पाठ गर्ने गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा ठूलो मेलासमेत लाग्ने गरेको छ ।

 

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech