खजुराले बनायो सुशासन ऐन

असल शासन प्रतिनिधि

खजुरा गाउँपालिकाले सुशासन ऐन पास गरेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको १० औं गाउँसभाले सुशासन ऐन लगायत विभिन्न नीति तथा विधेयक पारित गरेको हो । सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको सुशासन (व्यवस्थापन तथा संचालन) विधेयक २०७८, स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८ र समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छलफलसहित पारित भएको छ । बाँकेका ८ स्थानीय तहमध्ये सुशासन ऐन पारित गर्नेमा खजुरा दोस्रो पालिका हो । यस अघि नेपालगन्ज उपमहानगरपालिकाले सुशासन ऐन पास गरीसकेको छ ।

सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८/८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट सम्पादन भएका कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाई स्वागत गरेकी थिइन् । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको खजुरा गाउँपालिकाका योजना शाखा प्रमुख तथा सूचना अधिकारी दिल बहादुर पौडेलले जानकारी दिएका छन् ।

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech