राप्तीसोनारीमा भौतिक योजना अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पालिकाद्वारा सञ्चालित सम्पन्न गरिएका र निर्माणाधीन विभिन्न भौतिक संरचनासहितका योजनाको अनुगमन गरेका छन् । गाउँपालिकाको वडा नं. २ र ९ क्षेत्रका विद्यालय भवन, सडक, खानेपानी, सिँचाइ, नालालगायतका संरचनाको कार्य अवस्था एवम् निर्माण सम्पन्न भए नभएको विषयमा अध्यक्ष थारुले सोमबार अनुगमन गरेका हुन् ।

अनुगमनले कामको गुणस्तर अभिवृद्धि गर्नुका साथै अनियमितता रोक्ने र गाउँ समाजमा संघीयताको महत्व र यसका फाइदाका विषयमा बुझाउन सहज हुने अध्यक्ष थारुले बताए । गाउँपालिका, प्रदेश तथा संघीय सरकारको साझेदारीमा निर्माणाधीन भवन साथै गाउँपालिकाद्वारा सञ्चालित विभिन्न विकास आयोजनाको पनि अनुगमन गरिएको गाउँपालिका अध्यक्ष थारुका स्वकीय सचिव सन्तोष चौधरीले जानकारी दिए । आफू लगातार जनताको माझमा रहने र परिणात्मक काम देखिने गरी जनताकै काम गर्ने उनले उद्घोष गरे । साथै उनले हतारमा काम नगर्न सुझाब दिँदै दिगो विकास लक्ष्य अनुसार गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् ।

आफ्नो कार्यकालयमा जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गरेको देख्न पाउने उनको विश्वास छ । साथै अध्यक्ष थारुले अनुगमनका क्रममा निर्माण सम्पन्न योजनाहरु सन्तोषजनक रहेको बताए । गाउँपालिका अध्यक्ष थारु आफै उपस्थित भएर गाउँमा आई योजनाको अनुगमन गरेको भन्दै स्थानीयवासीले समेत खुसी व्यक्त गरे । अनुगमनमा नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भीम बहादुर राना, प्राविधिकसमेत सहभागिता रहेको थियो ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech