ज्येष्ठ नागरिकलाई कम्बल र च्यवनप्राश

असल शासन प्रतिनिधि

नेपालगन्ज/ डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पूर्ण ज्येष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता पनि सँगै वितरण गरिरहेको हो ।

गाउँपालिकाको वार्ड नम्बर १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाले गाउँ टोलबाटै ज्येष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत् घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । नेपालगन्जका ज्योति विकास बैंक, एनसिसी बैंक र मेगा बैंकमार्फत् दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रैमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भइरहेको छ ।

बैंकबाट भत्ता बुझेर ज्येष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरी घरैसम्म पु¥याउने गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ चौफेरीका ९५ वर्षीय नन्कइ अहिरलाई न्यानो सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पु¥याउने विश्वास व्यक्त गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागु गरेको बताए । उनले अब डुडुवाका कुनै पनि ज्येष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्बल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।

अहिलेसम्म एक हजार एक सय जनालाई उक्त कम्बल वितरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले सामाग्री हस्तान्तरण गरेका हुन् ।

 

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech