बाँकेबाट यमराज पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दाङको घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइकेसमेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनाहा नाकाबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सिमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थित जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर उनीहरू अस्पताल नगएर घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए । लजमा यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर उनी भागेका थिए ।

प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । परियार भागेपछि अनुसन्धानका लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech