डुडुवाका २ हजार २ सय ७० ले पाए वृद्ध भत्तासँगै न्यानो सामाग्री

असल शासन प्रतिनिधि

नेपालगन्ज/ डुडुवा गाउँपालिकाले चरणबद्ध रुपमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत कम्बल वितरण गर्नुका साथै पौष्टिक आहार च्यवनप्राश वितरण कार्यक्रमलाई प्राथमकिता साथअघि बढाएको छ । गाउँपालिकाले शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरिसकेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता पनि सँगै वितरण गरिरहेको हो ।

गाउँपालिकाको वार्ड नंं. १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । शुक्रबार ६७ जना गरी कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिएका छन् ।

गाउँपालिकाले गाउँ समुदायबाटै ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक भत्ता बुझ्न सवारी साधनमार्फत् घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जको ज्योति विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत् दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलोे त्रैमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार बैंकबाट भत्ता बुझेका ज्येष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरी घरैसम्म पु¥याउने गरिएको छ ।


गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले ज्येष्ठ नागरिकलाई उक्त सामग्री हस्तान्तरण गरिरहेका छन् ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech