धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

असल शासन प्रतिनिधि

धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाएको छ । बालबालिका तथा युवाको समग्र विकासका लागि नगरपालिकाले ५ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेको छ । शुक्रबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा धनगढीमा आयोजित स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्र्तक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराल लगाएत विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्तर्क्रिया कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरुले विभिन्न प्रश्न तथा गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी नगर बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले नगरपालिकाबाट बालक्लवहरुको लागि बजेट विनियोजन नभएको गुनासो गरिन् । उनले बालक्लबहरुले बजेट अभावकै कारण बालक्लबहरुले चाहे अनुसारको काम गर्न नसकेको बताइन् । योजना तर्जुमा प्रक्रिया बालबालिकाहरुको सहभागिता नहुने उनले बताइन् ।

यस्तै सहभागी प्रविन चन्दले बालक्लवहरुका योजनाहरु नगरको योजना पुस्तिकामा समावेश नहुने र स्थानीय योजना तर्जुमा आफूहरुलाई जानकारी समेत नहुने गुनासो व्यक्त गरे । अर्का सहभागी सुरज खड्काले बालबालिक तथा विद्यार्थीहरुमा लागु औषध दुव्र्यसनीका समस्या बढ्दै गएकाले नगरपालिकाले यस विषयमा गम्भीर भएर सोच्नु पर्ने बताए । सहभागी युवा कुवेर खड्काले पछिल्लो समय युवापुस्ताहरुमा मानसिक समस्या बढ्दै गएको र यस विषयमा मानसिक समस्या समाधानको लागि मानसिक शिक्षा सम्बन्धी योजना र लगानी बढाउनु पर्ने बताए ।

यस्तै नरगपालिकाले व्यवहारिक तथा गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड् दिनुपर्ने बताए । नगर बाल सञ्जालका सचिव मनिस बोहराले बालबालीकाहरुका लागि विनियोजित भएको बजेट सदुपयोग नहुने गरेको बताए । सहभागीहरुका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै नगरपालिका सामाजिक शाखा प्रमुख टंकबहादुर बिष्टले योजना तर्जुमा प्रक्रियामा टोल र वडा स्तरमा हुने भेलाहरुमा बालबालिकाहरुको सहभागि बढाउने बताए । उनले बालबालिकाका आवश्यकतालाई मध्य नजर गर्दै कति उमेर समूहकालाई कस्ता किसिमका योजनाहरु दिँदा उपयुक्त हुने बुझेर योजना छनौट गर्ने बताए ।

बालबालिका तथा युवाहरुको समस्यालाई सम्बोधनको लागि आफ्नो शाखाबाट हुन सक्ने सबै काम गर्न तयार रहेको बताए । यस्तै नगरपालिका युवा तथा शिक्षा शाखाका शाखा अधिकृत अकबर चन्दले शिक्षाका क्षेत्रमा नरगपालिकाले थुप्रै कामहरु गरेको बताए । उनले बालबालिका तथा युवाहरुको समस्या तथा आवश्यकतालाई ध्यानमा राखेर शाखाले काम गरिरहेको बताए । उनले शाखाबाट भए गरेका सम्पूर्ण कामहरुको विवरण समेत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरे ।

कार्यक्रममा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले स्थानीय योजना तर्जुमा बालबालीका तथा युवाहरुको सहभागिता बढाउने विषयमा आफूहरु सक्रात्मक भएको बताए । उनले नगरका योजनाहरुका बालबालिका तथा युवाहरु समस्या समाधान संगै उनिहरुको समग्र विकासका लागि आफूहरु प्रतिबद्ध गरेको बताए । नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले दुई वर्षदेखि कोभिडका कारण स्थानीय योजना तर्जुमा बालबालिकाहरुको सहभागिता न्युन रहेको स्वीकारे । उनले आगामी योजना तथा कार्यक्रममा सबै क्षेत्रालाई समेटेर लैजाने बताए ।

यस्तै धनगढीलाई बालमैत्री नगर बनाउन आफूहरु लागि परेको समेत मुडभरीले बताए । उनले युवाहरुका समस्या समाधानका लागि विद्यालयस्तरमा सुधारका कार्यक्रम ल्याउने बताए । अन्तर्क्रिया कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धनगढीलाई सुदूरपश्चिमको पहिलो बालमैत्री नगरपालिका बनाउन आफु लागि पर्ने धारणा राखे । बाल संरक्षणलाई जीवन्त राख्न सबै क्षेत्रले एकजुट भएर लाग्नुपर्ने उनले बताए । नीति निर्माणकर्ताहरुले समेत बालबालका तथा युवाहरुको विषयमा कदम चाल्नुपर्ने सुझाए ।

कार्यक्रममा परियोजना संयोजक हेमराज भट्टले कार्यक्रमको विषयबस्तु माथि प्रकाश पारेका थिए । बास नेपालले अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न पालिकाहरुमा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेको बताए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बास कैलालीका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech