लागुऔषध प्रयोगकर्तासँगै कारोबारी पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिका–७ गगनगन्जबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित र सोही ठाउँका २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो । प्रयोगकर्ता समेत रहेका मानन्धरले रुपैडियाबाट लागू औषध ल्याउने र यहाँ बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पाएपछि वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले आवश्यक चेकजाँच र खानतलासी गरेको थियो । त्यसक्रममा लागू औषध नापजाँच गर्ने तराजु समेत बरामद भएको छ । यस्तै नगद एक लाख ४४ हजार रकम पनि बरामद भएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनीहरु लागू औषध किनमेल गर्ने गिरोह भएको खुलेको बताएको छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech