घरेलु महासंघको १५ दिने आधारभूत हाते कढाइ तथा बुटिक तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्ज उप-महानगरपालिकाको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप-महानगरपालिका समितिको आयोजनामा माघ ५ गते शुरु भएको १५ दिने आधारभूत हाते कढाइ तथा बुटिक तालिमको समापन शुक्रबार (आज) एक कार्यक्रमका बीच गरिएको छ । आयोजक संस्थाका अध्यक्ष दिला शाहको अध्यक्षता एवम् नेपालगन्ज उप-महानगरपालिका का उप-प्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपालगन्ज उप-महानगरपालिकाका महिला, बाल-बालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शोभा शाह रहेका थिए ।

त्यसैगरी अथितिको रुपमा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश सचिव जयश्वर पौडेल, केन्द्रीय प्रतिनिधि कृष्णा पाठक कोहलपुर नगर समितिका अध्यक्ष हेम बिक्रम जिसी, महा-सचिव सि. एम. उपाध्याय तथा उच्च अदालत बार एसोसियसन का निवर्तमान अध्यक्ष विकास आचार्य रहेका थिए ।

आयोजक संस्थाका उपाध्यक्ष बिष्णु खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको समुद्घाटन प्रमुख अथिति तथा विशिष्ट अथितिले पानसमा दियो बालेर गरेका थिए। प्रमुख अथिति, विशिष्ट अथिति एवम अन्य अथितिहरुले तालिमको आवश्यकता तथा महत्वका विविध पक्षमा प्रकाश पार्दै प्रशिक्षार्थीलाई तालिम पश्चात स्व-रोजगारको बाटोमा लाग्न शुभकामना दिएका थिए ।

प्रशिक्षार्थीको तर्फबाट उषा कुमारी कान्दुले आफ्ना अनुभव र तालिम पश्चात आफूमा आएको परिवर्तनका बारेमा बोल्दै थप एडभान्स तालिमको आयोजना गर्न माग गरेकी थिइन् ।

विभिन्न वर्ग र समुदायका महिलालाई लक्षित गरिएको तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। प्रशिक्षार्थी मध्य तालिमको अन्तिम दिन मन्जु घर्ती आचार्यलाई उत्कृष्ट घोषित गरी पुरस्कार प्रदान गरिएको थियो। तालिमको प्रशिक्षण भिमु मगरले गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष दिला शाहले तालिम आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सरोकारवाला सबैबाट सहयोगको अपेक्षा राखेको बताइन् । कार्यक्रमको संचालन नेपालगन्ज उप-महानगरपालिका समितिका महा-सचिव भोजराज तिमल्सैनाले गरेका थिए ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech