कचनापुर ग्रामीण विद्युतीकरणको ११ औं साधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित कचनापुर ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिले शुक्रबार आफ्नो ११औं साधारण सभा सम्पन्न गरेको छ । समितिका संरक्षक तथा पूर्वमन्त्री प्रेम बहादुर भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

साधारण सभालाई सम्वोधन गर्दै पूर्व मन्त्री भण्डारीले कचनापुर क्षेत्रमा सहज ढंगले तोकेकै समय भित्र विद्युतीकरण भएको बताए । उनले यस क्षेत्रमा साना तथा मझौला खालका उद्योगलाई महत्वपूर्णका साथ हेर्नु पर्नेमा जोड दिए । कचनापुर क्षेत्रमा जनसंख्या बढ्दै गएकाले अझै विद्युतीकरणलाई विस्तार गर्नुपर्ने भण्डारीले बताए । साधारण सभामा समितिका सचिव तप्त पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा समितिका लेखा संयोजक पवन शाहले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ६३ लाख ३३ हजार ८ सय ५२ रुपैयाँ ७० पैसाको आयव्यव प्रस्तुत गरेका थिए ।

त्यसैगरी प्रबन्धक मिन बहादुर सेजवालले चालु आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ८० लाख ७९ हजार ३ सय ९ रुपैयाँ ६५ पैसाको अनुमानित आयव्यव प्रस्तुत गरेका थिए । कचनापुर ग्रामीण सामुदायिक विद्युतिकरण उपभोक्ता समितिका अध्यक्ष केशव राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, लेखा समिति, उपभोक्ता, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech