अपहरण गरेर हत्या गर्ने मल्ल ११ वर्षपछि पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँके प्रहरीले गोरखा प्रहरीको समन्वयमा ११ वर्षपछि एक व्यक्तिको अपहरणपछि हत्या गर्ने शौभाग्य मल्ललाई पक्राउ गरेको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नं.१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमलाल बुढालाई अपहरणपछि हत्या गरेर फरार भएका साविक नेपालगन्ज १३ हाल वडा नं.१० भृकुटीनगर बस्ने ३० वर्षीय मल्ल गोरखा जिल्लामा लुकिछिपी बसेको भन्ने सूचानाको आधारमा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

२०६७ साल माघ ३ गते मल्लसहित ४ जना मिलेर बुढालाई नेपालगन्जबाट अपहरण गरी कोहलपुर लगेर परिवारसँग फिरौती मागेका थिए । तर पोल खुल्ने भएपछि बन्धक बनाइएको एउटा रित्तो घरको गोठमा तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाएर मल्ल फरार भएका थिए ।

उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो ।

हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् भने पक्राउ परेका मल्लको मुद्दा भने मुलतवीमा रहेको प्रहरीले जनाएको छ ।

 

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech