नेपालगन्जमा बस्नेत आए सुवेदी गए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई सोमबार औपचारिक कार्यक्रम गरी कार्यालयमा स्वागत गरिएको छ । सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत तथा यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई बिदाइ गरिएको हो ।

नगर प्रमुख डा. धवलशमशेर राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाइ गरेका छन् ।

सुवेदीको करिब तीन महिनामै नेपालगन्जबाट सरुवा भएको भन्दै नगर प्रमुख राणाले उनले नेपालगन्जको विकास निर्माणको सन्दर्भमा छोटो समयमै महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्याकालमा यहाँ विकास निर्माणका कामले गति लिने विश्वास पनि व्यक्त गरेका थिए ।

सुवेदीले छोटो समयमा नेपालगन्जमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवादज्ञापन गरेका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधि र कर्मचारी सबैको साथ र सहयोग लिएर नेपालगन्जको विकास निर्माणमा इँटा थप्न प्रयास गर्ने बताए । गृह मन्त्रालयमा रहँदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरेका बस्नेतले दैलेखको नारायण नगरपालिका, सल्यानको बागचौर नगरपालिका र सुर्खेतको भेरी गंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी सम्हाली सकेका छन् । बस्नेतले यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech