रुक्मिणी स्मृति अक्षय कोषबाट सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बासकी पूर्व केन्द्रीय सदस्य स्व. रुक्मिणी शाहको जन्मदिनमा एक जना बालकलाई सहयोग गरिएको छ । बासले स्थापनना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट बर्दिया रम्मापुर स्थायी घर भई हाल नेपालगन्ज– १२ मा आफन्तको घरमा आमासँग बस्दै आएका आदर्श रुचाललाई ८ हजार रकम सहयोग गरिएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, केन्द्रीय महासचिव शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाहलगायतले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपालगन्ज –१२ मा बस्दै आएका रुचाल आर्थिक अवस्था कमजोर भएका बालक हुन् । उनी आफ्नी आमा रुकमाया हमालसँगै मामाको घरमा आश्रित रहेका छन् । बालक आदर्शका बुवा रोजगारीको सिलसिलामा भारत गएर लामो समय देखि नफर्किपछि उनीहरु मामाहरुको घर बस्दै आइरहेका छन् । उनको पठन, पाठनमा सहयोग पुगोस् भन्ने हेतुले कोषबाट सहयोग गरिएको हो ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवंगत बास नेपालकी केन्द्रीय सदस्य रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । उनले अल्पआयुमा शाहको निधनबाट बासलाई अपुरणीय क्षति भएको बताउँदै दिवंगत आत्माको शान्तिको लागि परोपकारी तथा सामाजिक कार्य गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा पुष्प, अबिर अर्पण गरिएको थियो ।

शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाङ्गता भएका व्यक्ति, आर्थिक अभावमा परेका बालबालिका, ज्येष्ठ नागरिक, हिंसामा परेका महिलाहरुलाई विभिन्न सहयोग प्रदान गरिँदै आएको छ ।

शाहको सम्मानमा बासले १ लाख ३१ हजार ३२ रुपैयाँको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । स्मरण रहोस् २०६५ वैशाख २७ गते खासकारकाँदौमा बास पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहका पतिलगायतले उनको दिउँसै हत्या गरेका थिए । पुनरावेदन अदालतले अभियुक्तलाई सर्वश्वसहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech