‘एनपीयु पत्रकार कल्याण कोष’ लाई २५ हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई नेपाली कांग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार सहयोग गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको उक्त कोषलाई प्रभावकारी बनाउन नेता गौडेलले सहयोग गरेका हुन् ।

कोषका उप-समिति संयोजक कमल खत्रीलाई नेता गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको हो ।

कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि सभापति पदका उम्मेदवार समेत रहेका नेता गौडेलले गरेको सहयोगप्रति युनियनले आभार प्रकट गरेको छ । ‘युनियन बाँके शाखाले गरेको यो कल्याणकारी कामलाई मैले सहयोग गरेको हुँ, आगामी दिनमा पनि युनियनले गर्ने हरेक काममा मेरो साथ रहनेछ,’ उनले भने ।

कोषका लागि आवश्यक सहयोग गर्न शुभेच्छुक, संघ संस्था तथा निकायलाई युनियनले पुनः आग्रह पनि गरेको छ । उक्त कोषले बाँके जिल्लाका सबै पत्रकारलाई समेट्ने युनियनले जनाएको छ । कल्याणकारी कोषका लागि अन्य ब्यक्ति तथा निकायले पनि सहयोगको प्रतिवद्धता जनाएको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताएका छन् । ‘कल्याणकारी कोषका लागि अन्य धेरै ब्यक्ती र निकायबाट पनि सहयोग गर्ने प्रतिवद्धता आएको छ र कतिले घोषणा पनि गर्नु भएको छ,’ उनले भने ।

पत्रकार कल्याण कोषसँगै युनियन बाँकेले स्थापना गरेको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘जगन्नाथ गौडेल स्मृती पत्रकारिता पुरस्कार’ लाई पनि थप ब्यवस्थित गर्ने योजना अगाडी सारेको छ । यी पुरस्कारलाई थप ब्यवस्थित गर्ने कार्यमा पनि सहयोग तथा सहकार्य गर्न युनियन बाँके शाखाले सबैलाई आग्रह गरेको छ ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech