बाँकेको दुर्गम बस्ती गुर्दनगौरीका नागरिकले लगाए खोप

असल शासन प्रतिनिधि

नेपालगन्ज\ राप्ती सोनारी गाउँपालिका वडा नं. ४ गुर्दनगौरीमा स्थानीयलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइएको छ । राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार शनिबार १ सय ९ जनाले कोरोना विरुद्धको ‘जोनसन’ खोप लगाएका हुन् । पालिकाको दुर्गम बस्ती भनि चिनिएको गुर्दनगौरी, खयरभट्टी, महेशपुरलगायतका बस्ती टोलमा पुगेर कोरोनाविरुद्धको खोप लगाइएको हो ।

राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी सुरेश शर्माको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले १ सय ९ जनालाई जोनसन खोप लगाएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीलाई परिचालन गरी टोलबस्तीमै कोरोना विरुद्धको खोप लगाउन अभियान चलाएको स्वास्थ्य शाखाका कर्मचारी सुरेश शर्माले जानकारी दिए ।

गुर्दनगौरी क्षेत्रमा कोरोनाविरुद्धको खोप ५ सय जनालाई लगाउने लक्ष्य लिएकोमा १ सय ९ जनालाई खोप लगाएको उनले बताए । त्यसै गरी उक्त क्षेत्रमा स्थानीय नागरिकलाई कोरोना परीक्षण गरिएको छ । ३० जनालाई एन्टिजेन परीक्षण गरिएकोमा २ जनालाई कोरोना पोजेटिभ देखिएको शर्माले जानकारी दिए । कोरोना विरुद्धको खोपमा जनस्वास्थ्य बाँके, राप्ती सोनारी अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech