प्रधानन्यायाधीश राणा निलम्बन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन् । सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन् ।

संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ । राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । ३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन् । पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन् । महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिष्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् । तर, प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech