खजुरा बालविवाह मुक्त पालिका घोषणा हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा पहिलो बाल विवाह मुक्त वडा घोषणा गरेको खजुरा गाउँपालिकाले पुर्ण गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट बाल विवाह मुक्त घोषणा गर्न शुरु गरेको थियो । हालसम्म वडा नम्बर ३, १, ५ र ६ बालविवाह मुक्त घोषणा भइसकेका छन् । बाँकी रहेका चार वटा वडालाई पनि घोषणा गर्न लागिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

फागुन ३ गते घोषणा हुन बाँकी चारवटा वडासहित गाउँपालिकालाई नै एक समारोहकाबीच बालविवाह मुक्त घोषणा गर्न लागिएको अध्यक्ष कक्षपतिले बताए । खजुरा गाउँपालिकाका वडाहरुलाई बालविवाह मुक्त घोषणा गर्नका लागि नीति र कानुनी व्यवस्था हेरिएको, पालिकाअन्तर्गतका वडामा एक वर्षको अवधिमा विवाह दर्ताको तथ्यांक हेरिएको, प्रहरी कार्यालयमा बालविवाहविरुद्ध परेका उजुरी र बाल विवाहबारे पालिकाका सबै टोल बस्तीमा सर्भेक्षण गरेर बाल विबाहबारे सर्वसाधारणको बुझाई र बाल विवाहको घटना खोजी गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन् ।

गाउँपालिकाले बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७८ बनाएर सोही बमोजिम वडाको जम्मा विवाह दर्ताको २० प्रतिशत भन्दा कम बालविवाह भएको पाइएपछि बालविवाह मुक्त घोषणा थालेको हो । खजुराका ८ वटै वडाहरुमा आर्थिक वर्ष ०७७÷७८ देखि हालसम्म १ वर्षको अवधिमा ५९६ वटा विवाह दर्ता भएको छ । सर्भेक्षणका क्रममा गाउँपालिकामा ५९ वटा बालविवाह भएको पाइएको महिला तथा बालबालिका शाखाका प्रमुख न्यौपानेले जानकारी दिइन् । यसमा पनि जम्मा बालविवाहको प्रतिशत १०.४४ रहेको छ । इलका प्रहरी कार्यालय धनौलीमा बालविवाहका एक वटा उजुरी पनि परेको छैन ।

खजुराका ८ वटै वडाका जम्मा जनसंख्या ५० हजार ९ सय ६२ मध्य १५ सय ६ घरधुरीमा सर्वेक्षण गरिएको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जानकारी बताइन् । खजुरामा धार्मिक गुरुहरुले बालविवाह गराउन छाडेको प्रतिशत ७७.३९ रहेकोमा यसलाई सय प्रतिशत पु¥याउन धार्मिक गुरुहरुसँग समन्वय भइरहेको र उहाँहरु पनि सकारात्मक देखिनुभएको उपाध्यक्ष विकले जानकारी दिइन् । मंगलबार फागुन ३ गते पन्चेबाजा सहित ¥याली निकालिने र चारवटै वडालाई एक समारोहमा बाल विवाह मुक्त घोषणा गरे लगतै गाउँपालिकालाई पनि बालविवाह मुक्त घोषणा गरिने कार्यक्रम तय भएको योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech