बालविवाह मुक्त बन्यो खजुरा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात् खजुरा गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको हो ।

गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह मुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालविवाह अन्त्य सम्बन्धि रणनीति, बालअधिकार समिति गठन सम्बन्धि कार्यविधि, बालसंरक्षण नीतिलाई टेकेर गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशिल रहेकोकाले पालिकालाई बालविबाह मुक्त पालिका घोषणा गर्न सफल भएको बताए ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई बाँके जिल्लाकै तश्रो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा अभियानलाई निरन्तरता दिँदै बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गरे । बालविवाह मुक्त गाउँपालिका घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र अध्यक्ष कक्षपतिलाई प्रदान गरेका थिए ।

घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गरे । उनले यही फागुन अन्त्यसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र गैरसरकारी संघ संस्थाहरुको पनि उत्तिकै भूमिका रहने उल्लेख गरे । बालविवाह मुक्त पालिका घोषणा सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बाबुराम गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए । खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गर्न गरिएका प्रयास, पूरा गरिएका मापदण्ड र कार्यविधि बारे खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले उल्लेख गरेका थिए ।

खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना मार्फत साझेदारी गर्दै आएको जानकारी गराउँदै बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । बाँके जिल्लामा यसअघि जानकी र बैजनाथ गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको बताउँदै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका पनि घोषणाको तयारीमा रहेको स्याकका अध्यक्ष पाण्डेले बताए । बाँकेका ८१ वडामध्ये हालसम्म ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech