९८ प्रकारका औषधि निशुल्क

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन आधारभुत स्वास्थ्य सेवाको उपचार प्रोटोकल ल्याएको छ । आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार अब आधारभुत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीबाट विभिन्न ९८ प्रकारका औषधिहरु निशुल्क पाइने छ । आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ९८ थरीका औषधिमध्ये केही औषधि भने पाइने छैन । तर आधारभुत अस्पताल/ प्राथमिक स्वास्थ्य केन्द्रमा भने सरकारले तोकेका सबै ९८ थरीका औषधि निःशुल्क पाइने छ ।

संघीय संरचना अनुसार तीन तहको सरकार बनेसँगै स्वास्थ्य चौकीहरु आधारभुत स्वास्थ्य केन्द्र भएका छन् भने प्राथमिक स्वास्थ्य केन्द्र आधारभुत अस्पताल बनेका छन् । संविधानमा उल्लेख भए अनुसार प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले नयाँ प्रोटोकल बनाएको हो। उक्त प्रोटोकलमा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभुत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ वटा सेवा क्षेत्रहरुको सूची तयार गरिएको छ भने निशुल्क उपलब्ध हुने औषधिको सूची समेत छ । यसका साथै प्रोटोकलमा आधारभुत अस्पताल र केन्द्रमा हुनुपर्ने सर्जिकल सामग्रीको सूची पनि छ । उक्त सूची अनुसार स्वास्थ्य चौकी अर्थात आधारभुत स्वास्थ्य केन्द्रमा ९८ मध्ये ९१ प्रकारका औषधि पाइन्छ भने प्राथमिक स्वास्थ्य केन्द्र अर्थात आधारभुत अस्पतालमा ९८ प्रकारका नै औषधि पाइन्छ ।

सरकारले यो प्रोटोकल जारीहुनुभन्दा अघि पनि स्वास्थ्य संस्थाहरुमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ। यसअघिको नियम अनुसार स्वास्थ्य चौकीबाट ३५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाइँदै आएको थियो। अब नयाँ प्रोटोकल अनुसार ९८ प्रकारका औषधिहरु स्वास्थ्य संस्थामा चौबिसै घण्टा उपलब्ध हुनुपर्ने छ । नभएमा जनस्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार स्वास्थ्य संस्थालाई कारबाही हुने व्यवस्था छ । सरकारले औषधिको सूचीमा समय अनुसार रोग तथा समस्यालाई मध्यनजर गर्दै थप र परिमार्जन गरेको छ । यसअघि उपलब्ध हुँदै आएका ७० प्रकारका औषधिमध्ये आवश्यक नपरेका केही औषधि हटाइएको छ भने नसर्ने रोग, मानसिक रोग तथा अन्य स्वास्थ्य समस्याको उपचारमा प्रयोग हुने औषधि थप गरेको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech