रुकुम पूर्वमा फोरजी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ । रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो ।

पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन् । अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए । सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको प्रमुख यादवले जानकारी दिए ।

यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको यादवको भनाइ छ । फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने यादवले बताए ।

यसैगरी निर्माणाधीन अवस्थामा रहेका टावरका लागि पनि छिट्टै निर्माण सम्पन्नका लागि ठेकेदारलाई ताकेता गरिराखेको यादवले बताए । नयाँ निर्माणाधीन अवस्थामा रहेको सिस्ने–१ को सिस्ने, सिस्ने–४ को दादिङ, सिस्ने–६ को खोपीचार, भूमे–६ को महत रहेका छन् ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech