सांसद बानियाँविरुद्ध मुद्दा दर्ता, पीडित महिला असुरक्षित

नमस्कार शाह

नेपालगन्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । साँसद बानियाँको बलात्कार मुद्दाको दर्ता नं. ३७२ रहेकोे छ ।
मुगुको खत्याड गाउँपालिका ३ का ५७ वर्षीय बानियाँबिरुद्धको मुद्दा व्यापक दबाबका बीच चार दिनपछि मुद्दा दर्ता भएको थियो ।

पीडित महिलाले नेपालगन्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमुति लिनु पर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन । पीडित महिलाले सांसद बानियाँलाई तत्काल पदबाट निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनको लागि माग गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको उल्लेख गर्दै पक्राउ पुर्जीका लागि जिल्ला अदालतको आदेश सोमबार प्राप्त भएको बताए । उनले सभामुखलाई जानकारी गराई उनलाई पक्राउ गरिने बताए ।

पीडितले आफ्नो परिचय नुखुलाई नेपालगन्ज २ का नाममा जाहेरी दिएकी छन् । पीडित महिलाले दिएको जाहेरीमा माघ महिनाको २० गते बिहान ५ बजे बाँके नेपालगन्ज उपमहानगरपालिका २ न्यूरोड जाने बाटोमा रहेको अप्सरा होटलको कोठा नम्बर २१५ मा बलात्कार भएको उल्लेख छ ।

सांसद बानियाँले २०७६ मंसिर ८ मा सामूहिक रुपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए । त्यो रकम फिर्ता गर्नको लागि पटक पटक पीडित महिलासँग छलफल तथा भेटघाट गरेका थिए ।

‘सांसद बानियाँ रुपैयाँ दिन्छु भन्दै माघ १८ गते सुर्खेत पुगेका थिए तर सुर्खेतमा भेट हुँदा रुपैयाँ नभएको भन्दै नेपालगन्जमा आफन्तले रकम जम्मा गरिसकेकोले सँगै नेपालगन्ज जान भने,’उनले भनिन्–पैसा प्राप्त हुने सोचेर नेपालगन्ज उनसँगै हिँडे ।

बानियाँले अप्सरा होटलको २१५ नम्बर कोठा बुक गरिदिएका थिए । बानियाँसँगै बानियाँका कार्यकर्ता नरेन्द्र रावल र उनको गाडीका चालक दिपेन्द्र उक्त होटलमा बसेको बताइएको छ ।

पीडित नेपालगन्ज २ ले भनिन्, ‘मैले घर जान्छु, भोलि बिहान रुपैयाँ ल्याइदिनु भने तर अबेरसम्म रकम आउने भन्दै होटलमै बस्न भने, रात पर्दा समेत पैसा नआएपछि म होटेलमै बस्न बाध्य भएँ । म रुपैयाँ आउने आसैआसमा होटलमा बसेँ । बिहान ५ बजे सांसद बानियाँले ढोका ढक्ढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए ।’

‘मैले खुसीका साथ ढोका खोलें,’ पीडितले भनिन्, ‘ढोका खोल्ने बित्तिकै उनले जबरजस्ती गरे, मैले प्रतिकार गरें, आफूले भने अनुसार नगरे कोठामै मारिदिने धम्की दिएर मलाई बलात्कार गरे ।’

‘होटलबाट बाहिर निस्केर मेराविरुद्ध कसैलाई भनेमा ज्यान मार्ने धम्की उनले दिएका थिए । म माथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगें,’उनले भनिन् ।

जानकारी अनुसार, पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको छ । जाहेरी दर्ता पछि पीडितले असुरक्षित महसुस गरेको बताएकी छन् । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि असुरक्षित महसुस गरेको उनले बताएकी छिन् ।

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे २५ लाख रुपैयाँ दिने बताउँदै जाहेरी फिर्ता लिन दबाब दिएको उनले बताइन् । उनले बानियाँका छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन ।
पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएको थिइन । उनले लेखेकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँनै जवाफदेही हुनु हुनेछ ।’

यसैगरी कर्णाली प्रदेशका सांसद दानसिंह परियार पनि पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन दबाब दिने कार्यमा संलग्न रहेको उनले बताइन् ।

जानकारी अनुसार, पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय वाणिज्य बैंकको उक्त चेक बाउन्स भएको थियो । त्यही बाउन्स चेकसमेत सांसद परियारसहितको टोलीले खोसेको पीडितको भनाइ रहेको छ ।

पक्राउ पुर्जी जारी गर्नुपूर्व सांसद बानियाँ बाँके प्रहरीको सम्पर्कमा रहेको बुझिएको छ, प्रहरीलाई सम्पर्क गरी घटना सत्य नभएको बानियाँ बताउथे । प्रहरी श्रोत भन्छ,‘पक्राउ पुर्जी जारी गर्ने पक्का, पक्की भएपछि बानियाँ प्रहरीको सम्पर्क भन्दा बाहिर छन् ।’

यस बारे माघ २५ गते बानियाँले फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेका थिए,‘आज केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासँग नाम जोडेर छापिएको अति भ्रामक समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मान मर्दन माथि गम्भीर चोट पुगेको छ । मसँग जोडिएको शिक्षिकासँग चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहिले नि अनुमान लगाउन सक्ने कुरा हो । आवश्यक पर्दा धेरै प्रमाणहरु हामीसँग सुरक्षित छन् यो बेइज्तीको ढोका नखोलौ भनेर चुप बसेको हो । यो त भोका र बेइमानीको ठूलो पराकाष्ठा हो त्यसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला । कति मान्छे कसरी भिक्टिम भएका हुन्छन् भन्ने नि बुझ्न जरुरी छ ।’

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech