कालोपत्रे नगरेको भन्दै खजुराका स्थानीय सडकमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सडक कालोपत्रे हुनुपर्ने माग गर्दै बिहीबार खजुराका स्थानीय सडकमा उत्रिएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गरेर सडक कालोपत्रेको माग गर्दै प्रदर्शन गरेका हुन् ।

खजुरा बजारमा निर्माण भइरहेको १८ सय मिटरको फोरलेन सडक तत्काल कालोपत्रे हुनुपर्ने माग स्थानीयले राखेका छन् ।  नेपालगन्ज–गुलरिया राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन् ।

उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्स्ट्रक्सन प्रालिले चार वर्ष अघि लिएको हो । तर अहिलेसम्म सडक पीच नहुँदा स्थानीय रुष्ट भएका छन् । राजमार्गमा गरिएको बेस समेत उप्किएपछि धुलो उडेर स्थानीयले सास्ती खेप्नु परेको छ । पैदल हिड्नेदेखि साइकल र मोटरसाइकलमा सवार गर्नेहरुले पनि धुलोको सामाना गर्नु परेको छ । चिसोको कारण राजमार्गमा गरिएको बेस उप्किएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताए ।

सडक निर्माणको जिम्मा पाएको गजुरमुखी कम्पनीले म्याद थप गर्न सडक डिभिजनलाई पत्र लेखेका छ । सडक डिभिजनपनि म्याद थप्ने प्रक्रियामा छ । चैतभित्रमा सम्पन्न गर्नेगरी म्याद थपको तयारी भइरहेको एसीले बताए । खजुराको धनौली चौकीदेखि खजुरा एक नम्बरसम्मको १८ सय मिटर सडक पीच गरिन लागिएको हो ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech