बाँकेमा ४४ जनामा कुष्ठरोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कुष्ठरोग प्रति १० हजारमा एकजना भन्दा कम भए निवारण भएको मानिन्छ । तर बाँकेमा प्रति १० हजारमा १ दशमलव ५९ मा कुष्ठरोगको संक्रमण देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा कुष्ठरोगका ४४ जना फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन मानव नेपालीका अनुसार आठवटा पालिकामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरमा कुष्ठरोगी छन् । कुष्ठरोग जोखिमको हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलबस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ ।

नेपालगन्जमा १३ जना, कोहलपुरमा ११ जना जानकी गाउँपालिकामा ६ जना, बैजनाथ र नरैनापुर गाउँपालिकामा ५–५ जना, खजुरामा ३, जना र डुडुवामा १ जना कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको फोकलपर्सन नेपालीले बताए । कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन उनले सबैलाई आग्रह गरे । गएको वर्ष बाँकेमा १२८ जना कुष्ठरोगी फेला परेका थिए ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech