न्यूरोडमा भानुभक्तको शालिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको नेपालगन्जस्थित न्युरोडमा आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक राखिँदै छ  । शालिक निर्माणस्थलको बिहीबार लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले शिलान्यास गरेका छन् ।

२०७५ सालमा भानुभक्त आचार्यको नाममा न्युरोडमा चोकको नामाकरण गरिएको थियो ।  चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार, त्यससँगै हरेक वर्ष जन्मजयन्तीका अवसरमा उक्त स्थानमा दीपप्रज्वलनसहित साहित्य कार्यक्रम गरिन्छ ।

शालिक स्थापनाका लागि भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले  २१ हजार प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै  नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्ष सुनिलसिंह हमालले  २५ हजार, पूर्व लायन्स गभर्नर शाक्य र शर्माले ब्यक्तिगतरुपमा ११ हजार तथा एनएलएफबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

चोकसँगै शालिक निर्माणका लागि १० लाख ९ हजार ५८४ रुपैयाँको खर्च हुने अनुमान गरिएको छ ।   लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले शालिक स्थापनाका लागि पहल लिएको हो ।

सिनर्जीका अध्यक्ष शिव दाहालको अध्यक्षतामा भएको शिलान्यास वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, लायन्स लिडर सेम शाक्य, मधुसुदन रिजाल, होमनाथ अधिकारी, मुकुट ढकाललगायतको उपस्थिति रहेको थियो ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech