५०१ कैदीबन्दीको सजाय मिनाहा

असल शासन प्रतिनिधि

नेपालगन्ज/५०१ जना कैदीहरुको बाँकी सजाय मिनाहा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ती कैदीबन्दीहरूको सजाय मिनाहा गरेको जनाएको हो।

‘नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७ साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिस,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फूर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।’

मन्त्रिपरिषदले ती कैदीबन्दीको सजाय मिनाहाका लागि राष्ट्रपतिको कार्यालयलाई चिठी लेखेको थियो।

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech