उत्पादन बजारीकरणका लागि बैजनाथका महिला सहकारीलाई गाडी 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बैजनाथ गाउँपालिकामा महिला सहकारीलाई गाडी हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १–४ का सहकारीमा आवद्ध महिलाहरुका उत्पादन बजारीकरणका लागि लाखौँ मूल्यको गाडी सहयोग गरिएको हो । ती वडामा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रद्वारा संयुक्त रुपमा साना किसान उद्यमी सुदृढिकरण परियोजना सञ्चालन भइरहेको छ ।

गाउँपालिकाको ७० प्रतिशत र अन्य संस्थाको समेत लगानीमा सञ्चालित परियोजनाअन्तर्गत सहकारी सञ्चालन हुँदै आएको छ । चारवटा वडामा बैजनाथ सामाजिक उद्यमी सहकारी सञ्चालित छ । उक्त सहकारीमा १५ सय महिला आवद्ध छन् । सहकारीमा आवद्ध महिलाहरुले अहिले प्रतिव्यक्ति एक हजार सेयर पुँजी लगानी गरिरहेका छन् ।

उक्त रकम उनीहरुले बचतमार्फत लगानी गरेका हुन् । सहकारीले महिलाहरुको व्यक्तित्व, सामाजिक तथा आर्थिक विकासमा काम गर्दै आएका छन् । सहकारीमा महिलाकै नेतृत्व छ । सहकारीका अध्यक्ष शान्ता थापामगर सहकारीमा आवद्ध महिला स्वरोजगारीमा लागेको बताइन् । उनका अनुसार अहिले सहकारीमा आवद्ध महिलाहरुले बाख्रा, भैंसी, बंगुर, कुखुरा पालन तथा तरकारी, च्याउ खेती गर्दै आएका छन् । परियोजनामार्फत महिलाहरुका उत्पादन बजारीकरणका लागि गाडी प्राप्त हुँदा खुसी लागेको बताइन् । अगामी दिनमा उत्पादन बजारीकरणमा राहत पुग्ने उनको भनाइ थियो ।

२३ लाख मूल्यमा खरिद गरिएको गाडी बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल र उपाध्यक्ष शारदा विश्वकर्माले चाबी संयुक्तरुपमा समितिका अध्यक्ष तथा पदाधिकारीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । यस्तै हेफर प्रोजेक्ट नेपालका उपाध्यक्ष डा.तीर्थराज रेग्मी रेग्मीले गाडिका महत्वपूर्ण कागजातहरु प्रदान गरे । गाउँपालिकाका अध्यक्ष मानबहादुरु रुचालका अनुसार महिलाहरुको शसक्तिकरणका लागि गाउँपालिका गम्भीर छ । स्थानीय सरकारले महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आर्थिक रुपमा सम्पन्न बनाउन उत्पादनमूलक कार्यक्रमलाई जोड दिइएको उनले बताए ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech