डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्तर्गत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमका गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्दै आरोग्य केन्द्रले नागरिकहरुको आयुर्वेद पद्धतिको उपचारमा सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ काम गरिरहेकाले यो आयुर्वेद चिकित्सालाई पनि सहयोग पुग्ने भन्दै यो उपचार सेवा रोगी र निरोगी मानिस दुवैका लागि स्वास्थ रहने काम गर्ने बताए ।

आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा स्वास्थ्य प्रर्वद्धन, जेष्ठ नागरिक सेवा, स्तनपान आमा सेवा, विभिन्न किसिमका औषधी वितरण, परामर्श सेवा प्रदान गरिनेछ । सेवा केन्द्रमा एक जना कविराज र सहयोगी कार्यक्रता गरि दुई जनाले सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकी गाउँपालिका बाहेक सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा विस्तार गरेको प्रमुख डा. अनिल कुमार चौधरीले बताए । उनका अनुसार आयुर्वेद चिकित्सालाई ग्रामिण क्षेत्रमा पुरयाउने उद्देश्यले सबै स्थानीय तहमा सेवा विस्तार गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा. अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक डा. गीता रेग्मी, वडाध्यक्ष पटेश्वर कुर्मी, अन्य जनप्रतिनिधि, स्वास्थ्य चौकी इन्चार्जलगायतको उपस्थिति रहेको थियो ।

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech