डोटीमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण

असल शासन प्रतिनिधि

डोटी । भ्रष्टाचार विरुद्ध मालपोत कार्यालय डोटीमा शुद्धिकरण सत्याग्रह गरिएको छ ।
सुशासनको क्षेत्रमा क्रियाशिल संस्था बास नेपाल अन्तरगत डोटी शाखाको आयोजनामा बुधबार डोटीको जिल्ला सदरमुकाम सिलगढी स्थित मालपोत कार्यालयमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, सेवाग्राहीलाई विभिन्न बहानामा नझुलाऔं, भ्रष्ट कर्मचारीलाई कारबाही गरौं जस्ता नारा लेखिएका पोस्टरहरू प्रर्दशन गरिएको थियो ।


बिहान ठिक १० बजे देखि आधा घण्टा मालपोत कार्यालयको मुल गेट अगाडी गरिएको प्रर्दशन पछि बास डोटी शाखाका अध्यक्ष गणेश मौनीले मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख प्रेम बहादुर माझीलाई कार्यालयको सेवा प्रवाहमा पारदर्शिता र सुशासन कायम गर्ने सन्दर्भमा तयार पारिएको १० बूँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा मालपोत कार्यालयमा सुशासन बहालिका लागि कार्यालयमा भइरहेका सबै खालका भ्रष्टाचारहरूको नियन्त्रण गर्न, सरकारी साधनको दुरूपयोगमा रोक लगाउन, नियमित नागरिकको गुनासो सुनुवाई गर्न लगाएतका सुझावहरु रहेका छन् ।
कार्यालय प्रमुख माझीले बासले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न र सेवालाई गुणस्तरीय सर्वसुलभ छीटोछरीतो प्रबाह गर्न प्रतिबद्ध रहेको बताएका थिए । भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रममा बास डोटी शाखाका १५ जनाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech