नव निर्वाचीत केन्द्रीय पदाधिकारीलाई स्वागत तथा बधाई

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले नव निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई ज्ञापन गरेकोछ ।
बास नेपालको चैत्र १८ र १९ गते नेपालगन्जमा सम्पन्न ९औं महाधिबेशनबाट निर्विरोध निर्वाचित केन्द्रीय कार्यसमितिलाई फुलमाला र अबिरले स्वागत तथा बधाई ज्ञापन गरेको हो । बासका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बासका नव निर्वाचित अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा रहेको समितिलाई स्वागत गरिएको हो । समितिलाई गरिएको स्वागत पछि बोल्दै बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बासको समिति ऐतिहासिक रुपमा सर्व सम्मत भएको बताउदै सबैको भावना र क्षमता अनुरुप संस्थाको अभियानलाई अगाडी बढाउने बताईन । उनले केन्द्रीय कार्यालयले गरेको स्वागतले थप जिम्मृवार बनाएको प्रतिबद्धता गरे । संस्थाको अभियानलाई थप सशक्त बनाउदै लैजाने उनको प्रतिबद्धता थियो ।


यसैगरी कार्यालयमा बोल्दै बासका निर्वतमान अध्यक्ष संस्थाको नेतृत्व हस्तान्तरणलाई सर्व सम्मत चयन गर्न सफल भएको बताउदै समिति सर्व सम्मत गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । अहिलेको समिति सशक्त समिति रहेको भन्दै यो अवधिमा संस्थागत प्रगति बढ्दै जाने उनको विश्वास थियो । उनले संस्थाको भवन निर्माण लगायत संस्थागत कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले संस्थाले महिला नेतृत्व पाएकोमा निकै खुसीलागेको बताए । उनले उपाध्यक्षको हैसियतले आफुले संस्थागत सुदृद्धीकरणमा बिशेष ध्यान दिने प्रतिबद्धता गरे ।


कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिब खुमेश सुबेदीले संस्थाको केन्द्रीय कार्य समिति र ब्यवस्थापन समिति संग सगै अगाढी बढेमा मात्रै संस्थाले सफलता हासिल गर्ने बताउदै सो कुरामा ध्यान दिने बताए । उनले संस्थागत ब्यवस्थापनलाई थप अब्बल बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता गरे । बासका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर शाहीले असल शासनको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गरे । सो क्रममा बासका केन्द्रीय सचिब दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारी, प्रदेश नम्बर १ का संयोजक सुमन पनेरु, लुम्बिनी प्रदेश संयोजक खेम बिष्ट, केन्द्रीय सदस्यहरु युबराज जंग शाह, मनमोहन बर्मा, तपेन्द्र बहादुर मलातीले बोलेका थिए ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका श्रोत ब्यक्ति मन भण्डारीले गरेका थिए । संस्थाको पृष्ठभूमिका बारेमा संक्षिप्त जानकारी दिदै कार्यक्रममा सभाध्यक्ष बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासलाई यो उचाई सम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने पदाधिकारीहरुको स्मरण गर्दै सबै प्रति आभार प्रकट गरेका थिए । उनले बासको ९औं महाधिबेशनबाट सर्वसम्मत चयन भएको बासको नयाँ नेतृत्वले देश ब्यापी रुपमा सकारात्मक सन्देश प्रवाह गरेको जनाए । संस्थाको नयाँ समिति सर्व सम्मत हुनु, सबै सुशासन अभियन्ताहरु समितिमा अटाउने वातारणको सिर्जनाले निर्वतमान अध्यक्ष रमेश सिटौलाको कार्यकाल पूर्ण सफल भएको बताए । उनले नयाँ कार्यसमितिको कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे । स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा केन्द्रीय पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech