महिला कलेजको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज स्थापना गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाद्वारा स्थापित मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ ।

पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गरेका हुन् ।
कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताए ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता महसुश गरिएको बताए ।

कलेज आफैमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुने उनले बताए । उनले महिला विद्यालय पछि कलेज निर्माण गरिएको हो ।

कलेजका प्रमुख रविन्द्र कर्णले करिब आठ करोड रुपियाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिए । कम्प्युटर ल्याव सहितको १४ कोठे छात्राबास समेत रहेको उनले बताए ।

मधेसी र मुस्लिम छात्राहरुलाई लक्षित गरेपनि सबै समुदायका महिलाहरुले कलेजमा अध्ययन गर्नेछन् ।

कलेजले ब्यवस्थापन सङ्कायमा बिबिए र बिबिएस, कानून सङ्कायमा ५ वर्षे बिएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे विएड र विज्ञानतर्फ ४ वर्षे विसिए र बिआईटी कक्षा सञ्चालनका लागि पुर्वाञ्चल विश्व विद्यालयमा सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञ टोली बनाएर दुईवर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको उपप्रमुख उमा थापा मगरले जानकारी दिईन् । सञ्चालक समिति सदस्य नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य मो. खालिद ईकवाल ईराकीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुधाँशु कोईराला, राप्रपाका नरेन्द्र पौडेल, नेपालगञ्ज वडानम्वर ७ का वडाध्यक्ष जुम्मन खाँ लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, मंगल प्रसाद मा.बि. व्यवस्थापन समिति अध्यक्ष बृजेश बहादुर सिंह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले कार्यक्रमका प्रमुख अतिथी पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइरालालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने नेपालगञ्ज उपमहानगरपालिकाकाकी उपप्रमुख उमा थापा मगरले मायाको चिनो प्रदान गरेकि थिईन् ।

चालु आवमा कलेजको सम्बन्धन सञ्चालनका लागि उपमहानगरपालिकाले करिब डेढ करोड रुपियाँ वजेट विनियोजन गरेको छ ।

 

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech