पाँच बुँदे प्रतिबद्धतासहित जैविक चौतारी सम्पन्न

असल शासन प्रतिनिधि

नरैनापुर/ बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित जैविक चौतारी कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त अयोजनामा मंगलबार सम्पन्न जैविक चौतारी कार्यक्रममा वन संरक्षणको सवाल, चुनौती, र अवसरको विषयमा सरोकारवाला विच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

चौतारीमा सहभागीको तर्फबाट बोल्दै स्थानीय बन उपभोक्ता समितिका अध्यक्ष शालिग्राम यादवले विगत २० वर्ष देखि आफु सामुदायिक वनको अध्यक्षमा कार्यरत रहँदै आएकोमा गाउँपालिका तथा डिभिजन बन कार्यालयबाट अपेक्षा अनुरुप सहयोग नपाएको, डढेलो, वन अतिक्रमण, चरीचराउ जस्ता समस्याहरु रहेको बताए । त्यस्तै अर्का सहभागि साबिर अलिले सामुदायिक वन उपभोक्ता समिति तथा सामुदायिक वन समिति समेत निष्कृय भएको बताउँदै सक्रिय हुँदै जानु पर्ने बताए ।

सहभागीबाट उठेका प्रश्नहरुको तवाफ दिँदै नरैनापुर सव डिभिजन वन कार्यालयका प्राविधिक सुवास डि.सी. ले स्थानीयहरुको सचेतानाको कमीले धैरै समस्याहरु उत्पन्न भएको बताउँदै समुदाय स्तरमा वन संरक्षणका विषयमा सचेतना जगाउन र कानुनी विषयमा समेत सचेत गराउँदै वृक्षारोपण कार्यक्रममा आफुहरु हातेमालो गर्दै अगाडि जान तयार रहेको बताए । त्यस्तै सहभागीको प्रश्नहरुको जवाफ दिनु हुँदै सामुदायिक वन उपभोक्ता महासंघ नरैनापुरका अध्यक्ष गुरुदयाल मिश्रले उपभोत्तक्ताहरुलाई सचेत गराई सशक्त बनाउँदै लैजानु पर्ने बताए ।

सरोकार वालाको रुपमा बोल्दै नरैनापुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजकुमार मौर्यले अरुलाई अन्य निकायलाई दोष दिने मात्र नभएर सामुदायिक वन उपभोक्ता समितिले आफ्नो जिम्मेवारी समेत वहन गर्नु पर्ने बताउँदै सामुदायिक वनसँग समेत स्रोतको परिचालन मार्फत उठेको आम्दानीबाट बनको घेराबार तथा वृक्षारोपण जस्ता कार्यक्रमहरु निरन्तर गर्नु पर्ने सुझाए ।

कार्यक्रममा सामुदायिक वनमा देखिएका मुख्या समस्याहरु वन डढेलो, अतिक्रमण, चरिचराउ लगायतका समस्याहरु समाधान गर्न पालिकाले आवश्यक बजेट विनियोजन गरि सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नरैनापुर गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक वनमा खुल्ला चरिचराको समस्या समाधान गर्न घेराबार तथा तारबारको कार्य अगाडी बढाउने, सामुदायिक वनमा गठन भएका उपभोक्ता समितिलाई सक्रिय बनाउन सामुदायिक वनबाट सचेतनामूलक कार्यक्रम संचालन गर्ने, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय सरकार, स्थानीयवासी जिम्मेवार भई आआफ्नो जिम्मेवारी पूरा गर्ने, वन डढेलो र चरिचराउबाट नष्ट भएको वनलाई पुनः पहिलाको अवस्थामा नै ल्याउन सव डिभिजन वनको सहकार्यमा वृक्षारोपण कार्यक्रम संचालन गर्ने लगाएतका ५ बुँद्धे प्रतिवद्धताहरु जाहेर भएका छन् ।

कार्यक्रममा उठेका सवालहरुको जवाफमा बोल्दै नरैनापुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष् मशुद अहमद शाहले सामुदायिक वन उपभोक्ता समिति मार्फत वन संरक्षणका सन्दर्भमा कुनै पनि कार्यक्रम र बजेट माग भई आएमा त्यस्को व्यवस्थापनमा आफूहरु कन्जुस्याइँ नगर्ने र गाउँपालिकाले समेत समितिको काम कार्वाहिलाई अनुगमन गर्ने प्रणालीको विकास गर्दै लैजाने बताए । कार्यक्रममा नरैनापुर सव डिभिजनका वनको तर्फबाट सुरत प्रसाद ठाकुरले कार्यालयले गर्दै आएको कार्य र आगामी रणनीतिका बारेमा जानकारी गराएका थिए भने एकीकृत भू–परिधि व्यवस्थापन परियोजनाका फिल्ड कार्यक्रम सहायक लक्ष्मी चौधरीले परियोजनाको गतिविधिको बारेमा जानकारी गराएका थिए ।  ४० जना सहभागी रहेको कार्यक्रममा सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech