महिलालाई स्वतन्त्र रुपमा मतदान गर्न असहज

असल शासन प्रतिनिधि

धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ कि दलित महिला वडा सदस्य पदकी उम्मेदवार पारवती देवी चौधरी बिकले स्थानिय निर्वाचनमा महिलाहरुले स्वतन्त्र रुपमा मतदान गर्न नपाएको गुनासो गरेकी छिन् । उनले महिलाहरुलाई हरेक ठाउँमा पछाडी पार्ने गरेको गुनासो गरिन् ।
‘महिला जहिले पनि दोश्रो चरणको छनौटमा पर्छन्, टिकट वितरण गर्दा पैसा खोजिन्छ, महिलाहरु हरेक ठाउँमा अझैपनि पछाडि पारिएको छ ।’ उनले भनिन–‘दलित महिलाको पक्षमा बोल्ने कोही छैन्, दलितले के गर्नसक्छ भन्ने सोच अझै पनि हाबी छ ।’दलको प्रचारप्रसारमा सहभागिता जुटाउन नसक्नेलाई पार्टीले अपहेलना गर्ने टिकट दिन मनाही गर्ने गरेको उनको गुनासो थियो ।
कुन पार्टीलाई भोट दिने, कसलाई चुन्ने कसको प्रचार गर्ने सबै कुरा पुरुषको हातमा भएको स्थानिय रेखा नेपालीले बताउँछिन् । ‘पुरुष अगाडी उम्मेदवार हुने महिला पछाडी झण्डा बोकेर हिड्ने चलन चल्दै आएकोछ’ रेखा भन्छिन्, ‘परिवारबाटै फलानो पार्टीलाई भोट दिनु, फलानो पार्टीको प्रचार गर्नू भन्ने दबाव आउँछ, श्रीमानले जसलाई भोट दियो श्रीमतिले पनि उसलाई नै भोट दिनुपर्ने बाध्यता हुन्छ ।’ महिलाको मताधिकार पुरुषबाट हनन् भएको उनले सुनाइन् । ‘श्रीमानले जुन पार्टीलाई भोट दियो श्रीमतिलाई पनि बाध्य पारेर त्यही पार्टीलाई त्यही व्यक्तिलाई भोट दिन दबाब सिर्जना गरेको हुन्छ, त्यो पनि एकप्रकारको हिसां हो ।’


बागेश्वरी असल शासन क्लब (बास) नेपालले शनिबार धनगढीमा आयोजना गरेको ‘स्थानिय तह निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको सहभागीता’ विषयक सम्वाद कार्यक्रममा सहभागी महिलाहरुले निर्वाचनमा महिलाहरुको काम झण्डा बोक्ने मात्रै भएका बताएका हुन । कार्यक्रममा सहभागि अधिकांश महिलाहरुले गत चुनावभन्दा यो निर्वाचनमा महिला सहभागिता न्युन भएको गुनासो राखेका थिए । उम्मेदवार छान्ने समयदेखि मतदानको समयसम्म महिला विभेदमा परेको सहाभागिहरुको जोड थियो ।
यस्तै अधिकारकर्मी कमला बुढाथोकीले चुनावमा महिलाहरुको काम झण्डा बोक्ने मात्रै भएको बताइन् । उनले भनिन्–‘प्रचारप्रसारमा जादाँ महिलाहरुको चरित्रमाथि हमला हुन्छ ।’ उनि चुनाव प्रचारका क्रममा महिलामाथि हिंसा भइरहेको बताउँछिन् । ‘प्रचारका क्रममा दलका कार्यकर्ताले महिलालाई लक्षित गरी नारा लगाउने र जिस्क्याउने गर्छन् ।’ प्रचारमा हिँड्नेहरुले मदिरा सेवन गर्ने भएका कारण महिला उम्मेदवारहरुलाई प्रचार अभियानमा असहजता आउने गरेको उनले सुनाईन् ।
‘गत निर्वाचनमा लैंगिक तथा यौनीक अल्पसख्यक भएकै कारण उम्मेदवारी दर्ता नभएको अवस्था थियो ।’ लैङ्गीक तथा यौनिक अल्पसंख्यक आशिका चौधरीले बताईन् । गत निर्वाचनमै मतदान गर्न जाने क्रममा मतदान अधिकृतले दाइभाइको परिचयपत्र ल्याएर आएको भन्दै दुव्र्यवहार भोग्नु परेको अनुभव सुनाईन् । उनले भनिन्–‘लैंगिक तथा यौनिक अल्पसख्यक भएकै कारण आफ्नो मताधिकार गुमाउने अवस्था सिर्जना भयो, पछि अन्य मान्छेहरुले दबाब दिएपछि मताधिकार गर्न सफल भए ।’ उनले आफु जस्तै आफ्नो समुहमा अन्य व्यक्तिहरुले निर्वाचनको समयमा दुव्र्यवहार भोग्नु परेको बताइन् । कतिपयले उम्मेदवार नै बन्न नपाएको देखी मताधिकार बाट बन्चितसम्म हुनु परेको उनको गुनासो थियो ।


कार्यक्रमका सहभागीले राजनीतिक दलबाट निर्वाचनको आचारसंहिता उलंघन भइरहेकामा समेत चिन्ता व्यक्त गरेका थिए । निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुनु, आचारसंहिता विपरीत पोष्टर टाँस्ने, तोरण झुण्ड्याउने, झण्डा राख्ने काम भइरहेको सहभागीको भनाई थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यो बर्ष दलहरुले उम्मेदवारमा महिला सहगागिता घटाएकोे बताए । उनले अघिल्लो चुनाव भन्दा यसपटकको चुनावमा महिला सहभागिता घट्न सक्ने अवस्था देखिएको बताए ।


कार्यक्रमका बिच प्रमुख भट्टले सहभागिहरुलाई नमुना मतपत्रमा मतदान कसरी गर्ने बारे जानकारी गराएका थिए । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व रहेको भन्दै्र निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिदिन आम नागरिकहरुलाई उनले अपिल गरेका छन् । उनले राजनीतिमा महिला सहभागिता बढाउन स्वयं महिला जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा मतदाता शिक्षाका बारेमा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट र लैंगिकताका बिषयमा सहजकर्ता प्रेम ढुंगानाले सहजिकरण गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा सहभागिहरुका बिचमा नमुना मतदात गरिएको थियो ।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech