भ्रष्टाचार बिरुद्धका अभियन्ता महतको निधन, बास नेपालद्वारा शोक व्यक्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालका गण्डकी प्रदेशका पूर्ब प्रदेश संयोजक चुत्र बहादुर महतको निधन भएको छ । जण्डिस रोगबाट ग्रसित महतको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा जेष्ठ ६ गते शुक्रवार निधन भएको हो ।

बास नेपालको स्याङ्जा शाखा अध्यक्ष समेत रहेका महतको नयाँदिल्ली स्थित गान्धी अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालबाट डिस्चार्ज भई घर फर्किने तयारी भईरहेका बेला उनको नयाँदिल्लिमा निधन भएको हो । महतको नयाँ दिल्लिमै दाहसंस्कार गरिएको थियो ।

भिरकोट नगरपालिका वडानम्वर ३ पाणेथोक निवासी महत भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको २०७१ सालमा साधारण सदस्य भई भ्रष्टाचार बिरुद्धको अभियान शुरुवात गरेका थिए ।

२०७१ साल चैत्र महिना देखि बास नेपालको स्याङ्जा शाखा अध्यक्षको रुपमा कार्यरत रहेका थिए । २०७२ देखि २०७५ सम्म बासको पश्चिमाञ्चल उपाध्यक्ष रहेका महत २०७५ देखि २०७८ सम्म गण्डकी प्रदेशको संयोजकको रुपमा कार्यरत रहेका थिए ।

पत्रकारितामा समेत सक्रिय रहेका महत नेतृत्वको बास स्याङ्जा शाखा बासका शाखाहरु बिच हुने उत्कृष्ठ शाखा प्रतियोगितामा उत्कृष्ठ हुँदै प्रथम, द्धितिय स्थान हासिल गर्दै पुरस्कृत भएको थियो । महतको नेतृत्वमा स्याङ्जा शाखाले भ्रष्टाचार बिरुद्धका बिभिन्न अभियानहरु सञ्चालन गर्नुका साथै बिभिन्न बिषय र बिभिन्न निकायका सार्वजनिक सुनुवाई सञ्चालन गर्दै आएको थियो ।

कुशल सञ्चालकको छबि बनाएका महतको निधनबाट बास मर्माहत बनेको उल्लेख गर्दै बास नेपालले शोक बक्तव्य प्रकाशन गरेको छ ।

भ्रष्टाचार बिरुद्धका अभियन्ता महतको निधनले भ्रष्टाचार बिरुद्धको अभियानमा अपुरणिय क्षति भएको छ –शोक बक्तव्यमा भनिएको छ– महतले बास नेपालको संस्थागत बिकासका साथै भ्रष्टाचार बिरुद्धको अभियानमा खेलेको भुमिकाको उच्च कदर गर्दै उनको योगदानलाई चिरश्मरणिय बनाउने कार्य बास नेपालले गर्नेछ ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीद्वारा जारी बक्तव्यको अन्तमा भनिएको छ – यस दुःखद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं ।

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech