सुस्मितालाई न्याय माग्दै नेपालगञ्जमा बिरोध

असल शासन प्रतिनिधि

नेपालगञ्ज/आठ वर्षअघि भएको एउटा सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीले आफूमाथि आयोजकबाट गरिएको बलात्कार र यौन शोषणको घटना सार्वजनिक गरेपछि उक्त घटनाको देशभर बिरोध भईरहेको छ ।

‘मिस ग्लोबल इन्टरनेसनल–२०१४’ मा सहभागी सुष्मिता रेग्मीलाई आयोजकले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय बुधबार सार्वजनिक भएको थियो ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन गर्दै दोषीलाई कारबाहीको माग गर्नुपर्ने आवाज संगठित हुँदै गएको छ ।

उक्त घटनाको दोषिलाई कार्वाही र पीडितलाई न्याय माग्दै नेपालगञ्जमा प्रर्दशन गरिएको छ । बास नेपालको आयोजनामा आईतबार नेपालगञ्जको बिपि चौकमा प्रदर्शन गरिएको हो ।

‘स्टप रेप’, ‘बलात्कार पीडितलाई न्याय दे’, ‘दोषीलाई सजाय दे’, ‘बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाऊ’ लगायतका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, स्वास्थ्यकर्मी सुमन गिरी, युवा सञ्जय श्रेष्ठ, मार्टिन वली लगायतले घटनाका दोषिलाई कार्वाही गर्नुपर्ने बताएका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रम बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले समापन गरेकि थिईन् ।
कार्यक्रममा १०० बढिको सहभागिता रहेको थियो ।

यसैबीच बलात्कार र यौनशोषणको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको हो । अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी थिइन् ।

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech