धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले कोभिड १९ पूर्ण खोप युक्त वडा घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ ।
आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ३ चटकपुरमा वडा खोप समन्वय समितिका अध्यक्ष तथा वडा अध्यक्ष राज बहादुर ऐरको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक बर्ष भित्र वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गर्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष सहित पदाधिकारीहरु, स्वास्थ्य चौकी इन्चार्ज जानुका कार्की, बासका कार्यक्रम संयोजक हेमराज भट्ट, सहजकर्ता तेज बोहरा, स्वयम् सेवीकाहरु सहभागि रहेको बैठकले जेष्ठ १६,१७ र १८ गते सञ्चालनमा रहेको कोभिड खोप अभियानलाई सफल पार्न समुदाय स्तरमा ब्यापक प्रचार प्रसार गर्ने, खोप लगाउन उत्प्रेरित गर्ने तथा अभियानलाई सफल पार्न प्रचार प्रसार र अन्य सहयोगका लागि युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत जोखिमपूर्ण सञ्चार तथा सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत धनगढीमा रहेका युवा स्वयम् सेवकहरुको सहयोग माग गर्ने, समुदायमा खोप लगाउन छुटेका र खोप लगाउन नमान्नेहरुलाई खोप समन्वय समितिले त्यस्ता घरपरिवारमा भेटघाट गर्ने र भेटघाट पश्चात आवश्यकता अनुसार घुम्ति खोप सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका संयोजक राज बहादुर ऐरको संयोजकत्वमा ५ सदस्सीय अनुगमन समिति गठन गरेको छ, जसको सदस्य सचिबमा स्वास्थ्य ईन्चार्ज जानुका कार्की रहेका छन् यसैगरी सदस्यहरुमा क्रमशः मिना मल्ल सिंह, भुबनेश्वरी बम र बास नेपालका तेज बोहरा रहेका छन् ।
बैठकले खोप समन्वय समितिको आगामी बैठक जेष्ठ ३० गते बस्ने र वडालाई पूर्ण खोप युक्त पालिका घोषणा गर्ने गरी मिति तय गर्ने निर्णय गरेको छ ।
बैठकको समापन कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष ऐरले निर्वाचित भएर आएसँगै वडालाई पूर्ण खोप युक्त पालिका घोषणा गर्ने सुअवसर प्रदान भएकोमा खुसी ब्यक्त गरे उनले राम्रो काम गर्न जहिले पनि तयार रहेको बताउदै बासले पूर्ण खोपयुक्त पालिकाका लागि गरिरहेको सहयोग वडाका लागि निकै महत्वपूर्ण हुने बताए । उनले खोप अभियानलाई सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।